Breaking News

राष्ट्रियसभाबाट पत्तासाफ हुँदै एमाले

काठमाडौं । २०७५ जेठ ३ गते माओवादीसँग पार्टी एकता गर्दा राष्ट्रिय सभा गृहबाट अब एमाले र माओवादी एकीकरण गरेर बन्ने नेकपा दुई जना पाइटलले हाक्छन भने पनि दुई तिहाईको सरकार २०७७ साल पुस ५ को प्रतिगमनसँगै दुर्घटनाग्रस्त भयो ।

माओवादीसँग चुनावी गठबन्धन गरेर दुईतिहाइ मतसहित सरकारमा पुगेको एमाले आफ्नै कारणले पत्तासाफ हुने अवस्थामा पुगेको छ । पुस ५ को कदमसँगै एमाले निरन्तर ओरालो लागिरहेको छ । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर प्रतिगामी कदम चालेपछि एमाले संघीय सरकार र प्रदेश सरकारबाट बाहिरिएको मात्रै छैन, राष्ट्रिय सभामा क्लिनस्वीपको स्थितिमा पुग्दै छ ।

आगामी फागुनबाट राष्ट्रिय सभाका २० सांसद बिदा हुँदै छन् । रिक्त स्थानका लागि आगामी माघमा राष्ट्रिय सभा निर्वाचन हुँदै
छ । त्यसका लागि हिजो सोमबार उम्मेदवारी दर्ता सम्पन्न भइसकेको छ । यो निर्वाचनमा एमालेले एक सिट पनि जित्न सक्ने मतभार छैन । एमालेले थप ९ सिट गुमाउदै छ ।

एकीकृत समाजवादीले आफ्नो दुई सिट र जसपाले एक सिट सुरक्षित गरेका छन् । कांग्रेस र माओवादीले गठबन्धनको सबैभन्दा बढी फाइदा उठाएका छन् । कांग्रेसले १० र माओवादीले ६ सिटमा उम्मेदवारी दिएका छन् । सातवटै प्रदेशमा सत्तारुढ गठबन्धनसँग निर्वाचित हुन पर्याप्त मतभार रहेकाले १९ सिटमै गठबन्धनका उम्मेदवार निर्वाचित हुने निश्चित छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक सिट पनि सत्तागठबन्धनबाटै हुनेछ ।

राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन भत्काउन एमालेले अनेक प्रयास गरेपनि ओलीलाई कुनै पनि दलका नेताले विश्वास गरेनन् । २० मध्ये एक सिट पनि जित्न नसक्दा गलत सन्देश जाने ठानेर ओलीले अनेक प्रयन्त गरेका थिए । ओलीले विगतमा सबै दललाई धोका दिएका कारण उनको कुनै पनि प्रयास सफल हुन सकेन । बरु ओली सामाजिक रुपमासमेत थप आलोचित बन्न पुगे ।

राष्ट्रियसभा निर्वाचनपूर्व स्वयं एमाले अध्यक्ष ओलीले हार स्वीकार गरिसकेका छन् । त्यहीकारण एमालेले उपस्थितिका लागि मात्रै उम्मेदवार उठाएको छ । जित्ने अवस्था हुन्थ्यो भने एमालेले अहिले उठाएका कसैले पनि टिकट पाउने थिएनन् ।

ओलीले विगतको गल्तीप्रति आत्मालोचना नगरेसम्म उनीप्रति विश्वासको वातावरण बन्ने स्थिति छैन । अझै लामो समय यो गठबन्धन अगाडि बढ्नेछ । एमालेले थप धक्का खानुपर्ने छ । तर, ओलीको दिमागमा षडयन्त्रभन्दा अरु केही देखिदैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘टीआरसी कार्ड’ फ्याँक्दै ओलीले ६ सीटको बार्गेनिङ गरेका थिए । तर, ओलीको विगतको कारण गठबन्धन दलको बैठकले उक्त प्रस्तावलाई स्वीकार गरेन् ।

राष्ट्रिय सभाको यो निर्वाचनसम्म आइपुग्दा ओलीका लागि निकै सकसपूर्ण र निराशाजनक अवस्था बनेको छ । यो क्रम निरन्तर जारी रहने छ । ओलीका कारण सिंगो एमालेलाई अपूरणीय क्षति भइरहेको छ । त्यो क्षतिलाई दशकौँदेखि पार्टीमा समर्पित नेता तथा कार्यकर्ताले पूर्ति गर्न हिम्मत गरेको देखिदैन ।

एमालेका नेताहरूले भित्रभित्र गुनासो गरे पनि बाहिर खुलेर ओलीको विरोध गर्न सकेका छैनन् । उनीहरूलाई टंक कार्की वा भीम रावल बनिन्छ कि भन्ने डर छ । त्यहीकारण बरु, पार्टी नै सकियोस् भन्नेमा उनीहरू देखिन्छन । किनाराको साक्षी बसेर एउटा व्यक्तिको कारण पार्टी तहसनहस भइरहेको हेरिरहेका छन् ।

विगतमा ओलीले एमाले विभाजन रोक्न कुनै प्रयास गरेनन् । ओलीले स्थानीय तह निर्वाचनमा सबैभन्दा ठूलो दल एमाले बन्ने दाबी गरे । तर, एमाले निकै खुम्चियो । फेरि, प्रदेश सभा र प्रतिनिधिसभामा आफू एक्लैले बहुमत ल्याउने दाबी गर्दै आफैँलाई भाबी प्रधानमन्त्रीको रुपमा अघि सारेर ओली चुनावी प्रचारमा हिडे । तर, ओलीले जहाँ जहाँ भाषण गरे, ती सबै ठाउँमा एमालेका उम्मेदवार पराजित भए ।

हाल केन्द्र र प्रदेश सबैतिर एमाले सत्ताबाहिर छ । तर, ओलीले हारको नैतिक जिम्मेवारी हालसम्म लिएका छैनन् । असंवैधानिक रुपमा दुई दुई पटक संसद विघटन गरेर दुई तिहाईको सरकार र पार्टी विभाजन गरेको जिम्मेवारी लिँदै आत्मालोचना पनि गरेका छैनन् । ओलीको त्रासमा रहेका एमालेजनले ठोस समीक्षाको आवश्यकतासमेत महसुस गरेनन् । जसको परिणाम राष्ट्रिय सभाको निर्वाचनसम्म आइपुग्दा एमाले भिख माग्नुपर्ने स्थितिमा आइपुगेको छ । अर्को निर्वाचनसम्म आइपुग्दा ५९ सदस्यीय राष्ट्रिय सभामा एमाले एक सिटमा सीमित हुँदैछ ।

राष्ट्रियसभाबाट एमालेबाट ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाको एक र एक स्वतन्त्र सांसद बिदा हुँदैछन् । एमालेबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित विमला राई पौड्याल (मनोनीत), भैरवसुन्दर श्रेष्ठ, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, ईन्दु कडरिया, नरपति लुहार र रामचन्द्र राईको कार्यकाल सकिँदैछ ।

कांग्रेसबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जीतेन्द्रनारायण देव, माओवादीबाट महेशकुमार महरा, हरिराम चौधरी र वीना पोखरेल, नेकपा एसबाट सिंहबहादुर विश्वकर्मा र नन्दा चपाईं तथा जसपाबाट प्रमिलाकुमारी यादव फागुन २० गतेबाट बिदा हुँदैछन् ।

प्रतिनिधिसभामा ३२ सिटमा रहेको माओवादी केन्द्र आगामी फागुन २० गतेबाट राष्ट्रिय सभामा पहिलो दल बन्दै छ । अहिले माओवादीका १५ सांसद छन् । ३ जना बिदा हुँदा ६ थपेर माओवादीले १८ पुग्नेछन । अहिले १० सांसद रहेको कांग्रेस ४ जना बिदा हुँदा १० थपेर १६ पु¥याएर दोस्रो दल बन्दैछ । तेस्रो दल बन्न नेकपा एमाले र एमालेबाट विभाजित भएर बनेको नेकपा एसबीच प्रतिस्पर्धा हुनेछ ।

१७ सांसदमध्ये अध्यक्षसहित ९ जना बिदा हुँदा एमाले ८ सीटमा खुम्चिदै छ । सबै प्रदेशमा गठबन्धनको सुविधाजनक बहुमत रहेकाले एमालेले एक सीट पनि जित्ने सम्भावना छैन । नेकपा एकीकृत समाजवादीका हाल ८ सांसद छन् । उनीहरुमध्ये दुई जना बिदा हुँदा दुई जना नै थपिन्छन् र ८ नै कायम हुन्छ । जसले गर्दा एमाले अध्यक्ष ओलीले आफ्नो राजनीतिक भविष्यसँगै नेकपा एमाले र तिनका नेता कार्यकर्ताहरुको भविष्यलाई पनि सिध्याउन थालेको चर्चा हुन थालेको छ ।

दृष्टिबाट