बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई नै तरलता व्यवस्थापन गर्न सकस

बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई नै तरलता व्यवस्थापन गर्न सकस भएको छ।

यही कारण राष्ट्र बैंकले लिएको नीतिगत लक्ष्य समेत पूरा हुन सकिरहेको छैन। बैंकहरूले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिने लक्ष्य राष्ट्र बैंकको छ।

मंसिर २२ गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो लक्ष्य लिएको थियो।

गत साउन ८ गते राष्ट्र बैंकले अन्तरबैंक सापटीको दर ४.५ प्रतिशत तोकेको थियो। तर गत मंसिर २२ मा परिमार्जन गर्दै यो दर ३ प्रतिशतमा झारेको थियो।

मंसिर २२ गतेअघि अन्तरबैंक ब्याजदर लक्ष्य नजिक नहुँदा पनि राष्ट्र बैंकले पर्याप्त दरमा तरलता खिचेको थिएन। अहिले भने राष्ट्र बैंकले नियमित रूपमा तरलता खिचिरहेको छ।

तर बैंकहरूको कर्जा लगानी नबढ्दा यो प्रयास पर्याप्त हुन सकेको छैन।

मंसिर २२ यता दुईपटक अन्तरबैंक ब्याजदर ३ प्रतिशतमाथि आएकामा त्यसपछि पुनः घटेको छ।

गत पुस १७ गते मंगलबार र १८ गते बुधबार यो दर ३ प्रतिशत माथि पुगेको थियो। राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत पुस २० गते शुक्रबार यो दर घटेर २.८२ विन्दुमा आइपुगेको छ।

तर गत भदौ २७ गतेदेखि नै यस्तो ब्याजदर ४.५ प्रतिशत विन्दुमुनि आएको थियो।

मंसिर २२  यता मात्रै राष्ट्र बैंकले निक्षेप संकलनमार्फत १२ पटकसम्म बैंकिङ प्रणालीबाट रकम तानेको छ। त्यसअघि ८० अर्ब रूपैयाँ तरलता खिचेको राष्ट्र बैंकले त्यसयता थप २ खर्ब ४५ अर्ब रूपैयाँ खिचेको थियो।

हालसम्म अन्तिम पटक गत पुस १९ गते २१ दिनका लागि १७ अर्ब ३० करोड रकम संकलन गरेको थियो। २१ दिनको लागि उठाइएको यो रकममा बैंकहरूले राष्ट्र बैंकबाट ३.०९ प्रतिशतसम्म ब्याजदर पाएका थिए।

साविकमा ७ देखि १४ दिने अवधिको निक्षेप संकलन गर्दै आएको राष्ट्र बैंकले यसपटक भने २१ दिनका लागि बैंकहरूबाट निक्षेप लिएको हो।

यसअघिसम्म बैंकहरूले ३ प्रतिशतमुनि ब्याजदरमा राष्ट्र बैंकमा रकम राख्दै आएका थियो। अहिले यो ब्याजदर समेत बढेको छ। पटकपटक रकम उठाइरहँदा राष्ट्र बैंकको लागतमा समेत वृद्धि भइरहेको छ।

बैंकहरूले सर्वसाधारणलाई दिने निक्षेपको ब्याजदर चाहेअनुसार डोहोर्‍याउन ब्याजदर करिडोरको तल्लो सीमामा अन्तरबैंक ब्याजदर र माथिल्लो सीमामा राष्ट्र बैंकले स्थायी तरलता सुविधा अन्तरगतको ७ प्रतिशत दरलाई राखेको छ।

बैंकहरूमा फालाफाल तरलता

राष्ट्र बैंकले बैंकहरूको प्रणालीबाट तरलता खिचिरहे पनि अधिक तरलताको अवस्था यथावत नै छ।

विगत डेढ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप एक खर्ब ४१ अर्ब रूपैयाँ बढेको छ। कर्जा लगानी भने ५६ अर्ब रूपैयाँ मात्र बढेको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत मंसिर ५ गते बैंकहरूमा ५९ खर्ब ३५ अर्ब रूपैयाँ निक्षेप थियो। गत पुस १९ गते बैंकहरूमा निक्षेप ६० खर्ब ७६ अर्ब रूपैयाँ पुगेको छ।

त्यस्तै कर्जा लगानी ४९ खर्ब ७६ अर्ब रूपैयाँबाट बढेर ५० खर्ब ३२ अर्ब रूपैयाँ पुगेको छ।

बैंकहरूसँग अझै पनि करिब ६ खर्ब चार अर्ब रूपैयाँ बराबर रकम कर्जा लगानीका लागि छ। बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने भए पनि हाल ८०.०५ प्रतिशत बराबर मात्रै कर्जा लगानी गरेका छन्।

बैंकहरूले पुस मसान्तपछि दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय भएकाले पनि उनीहरूले कर्जा लगानीभन्दा खराब कर्जा असुलीलाई प्राथमिकतामा राखिरहेका छन्।

व्यवसायीहरूले कर्जाको माग गर्नेभन्दा पनि ऋण तिर्नुपर्ने दबाब रहेकाले पनि कर्जा विस्तार हुन सकेको छैन।

सेतोपाटीबाट