Breaking News

(राखेप) ले हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ललितपुरस्थित पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव गरेको छ ।

राखेपको बैठकले पुल्चोकको मन्त्री निवास ललितपुरको भैसेपाटीमा निर्मित नयाँ भवनमा स्थानान्तरणपश्चात मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको हो ।

खेलाडीको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित खेलाडी आवासका रुपमा रुपान्तरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय भएको राखेप कार्यकारी समितिका संयोजक तथा सदस्य सचिव टंकलाल घिसिडले बताए ।

उनले विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगिताहरूमा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका दौरान होटेल तथा बसोबास खर्चवापत राज्यले ठूलो धनराशी खर्च गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यो ऐतिहासिक निर्णय गरेको बताए ।