Breaking News

आम जनता पार्टी (आजपा) ले माघ १० गते मधेस बन्दको घोषणा

वीरगन्ज । आम जनता पार्टी (आजपा) ले आउँदो माघ १० गते मधेस बन्दको घोषणा गरेको छ । आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो ।

बैङ्कहरूले मनोमानी ढङ्गले लिइएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त तथा सहकारीबाट गरिब किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रुपमा कर्जाको व्यवस्था गर्नुपर्ने लगायतका माग गर्दै आजपाले मधेस बन्दको घोषणा गरेको हो ।

यी मागहरू उठाउँदै गत हप्ता आजपाले मधेस प्रदेशको राजधानी जनकपुरमा विरोध प्रदर्शन गरेको थियो । सरकारसँग यी माग गर्दै आजपाले यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेको थियो । तर सरकारले आफूहरूको माग सम्बोधन गर्ने विषयलाई गम्भीर रुपमा नलिएको भन्दै आजपाले आम हडताल गर्ने अवस्थामा पुगेको हो ।

आजपा मधेस प्रदेशका इन्चार्ज सुधिर यादव र अध्यक्ष उमेश कुशवाहाले संयुक्त रुपमा आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई दबाब दिने उद्देश्यले मधेस बन्दको घोषणा गरिएको जनाएका छन् ।