Breaking News

एसीसी यू–१९ एसिया कपमा नेपाल भारतसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपाल भारतसँग लज्जास्पद पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।  समूह ‘ए’ रहेको नेपालले तीन खेल खेलेको थियो । नेपाल तीन खेलमा पराजित भयो ।

जितको लागि ५३ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७ ओभर एक बलमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । आर्शिन अतुल कुलकर्णी ३० बलमा १ चौका र ५ छक्कासहित ४३ रनमा अविजित रहे । आदर्श सिंह १३ बलमा २ चौकासहित १३ रनमा नट आउट रहे । नेपालका कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि आईसीसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ अभोर १ बलमा ५२ रनमा अल आउट भएको थियो ।

नेपाललाई सस्तैमा अल आउट गर्न भारतका तीव्र गतिका बलर राज लिम्बानीले सर्वाधिक ७ विकेट लिएका थिए । नेपालका कुनैपनि खेलाडीले १० रन बनाउन सकेनन् । नेपालका लागि हेमन्त धामीले १८ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाएका थिए ।

नेपालले भारतीय तीव्र गतिका बलर सामु रन जोड्न सुरुवात देखि नै संघर्ष गरेको थियो । सिनियर टोलीबाट खेली सकेका दुई प्रमुख ब्याटर देव खनाल २ र गुलशन झा ४ रनमा आउट भए ।

अर्जुन कुमाल ७ रन, दीपक बोहरा १, उत्तम थापामगर डक, दीपक प्रसाद डु्रमे गोल्डेन डक, दीपक बोहरा ७, दीपेश कँडेल ४, सुवास भण्डारी २ र आकाश चन्दले ४ रन बनाएका थिए ।

नेपालले लगातार दोस्रो पटक यू–१९ एसिया कपमा जित विहीन हुँदै बाहिरिएको हो । २०२१ मा पनि नेपाल जित विहीन हुँदै बाहिरिएको थियो ।