प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन्।
नवलपरासीको रामग्राममा मंगलबार आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धका सिद्धान्त, विचार र दर्शन अहिलेको सन्दर्भमा झन् बढी औचित्यपूर्ण भएको बताएका हुन्।
‘बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्त्व रहिरहन्छ। आजको सन्दर्भमा विश्वमा शान्तिको महत्त्व झन् बढ्न गएको छ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले केहीअघि राष्ट्र संघका महासचिवको भ्रमणले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरलाई विश्वव्यापी बनाउन सघाउ पुगेको पनि उल्लेख गरे।
जलवायु परिवर्तनका कारण नेपालले खेपेको प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएको प्रधानमन्त्री प्रचण्डले बताए।