Breaking News

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारविरुद्ध वारपारको लडाइँमा उत्रिएको घोषणा

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अधिकार खोस्नका लागि संघीय सरकारविरुद्ध वारपारको लडाइँमा उत्रिएको घोषणा गरेका छन् । बुधबार जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले प्रहरी समायोजन र निजामति कर्मचारीको खटनपटन प्रदेश मातहत नदिए संघ सरकारविरुद्धको आन्दोलन चर्काउने बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘संघ सरकारविरुद्ध अबको लडाइँ वारपारको हुनेछ । ६ वर्षसम्म आश्वासन कुरेर बस्यौं । अब प्रहरी–प्रशासन र कर्मचारी बेगर प्रदेश सरकार सञ्चालन गर्न कठिन भइसक्यो । अधिकार नदिए वारपारको आन्दोलन हुनेछ ।’

मुख्यमन्त्री यादवले मन्त्रीहरु र राजनीति दलका संसदीय दलका नेतालाई सँगै राखेर आयोजना गरेको पत्रकार सम्मेलनमा बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउने जानकारी समेत दिए । प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री यादवसहित मन्त्रीहरु बुधबार साँझ नै काठमाडौं हिँडेका छन् ।

प्रधानमन्त्री प्रचण्लाई ज्ञापनपत्र बुझाएको ३० दिनभित्र प्रहरी समायोजन, निजामति कर्मचारीको खटनपटन, गुठीको जग्गामा प्रदेश सरकारको स्वामित्व र वन क्षेत्र प्रदेशको मातहत नदिए काठमाडौंको माइतीघर मण्डलामा धर्ना बस्ने र त्यही प्रकृतिको कार्यक्रम मधेस प्रदेशको ८ वटै जिल्लामा सुरुवात गर्ने उनले चेतावनी दिएका छन् ।