Breaking News

मंसिर ७ गते दुर्गा प्रसाईँ र युवासंघको एकै दिन कार्यक्रम मुडभेट हुन सक्ने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ तीन वर्षअघि नेकपा एमालेमा प्रवेश गरेका थिए । २०७८ कात्तिक सात गते झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईँलाई पार्टीमा प्रवेश गराएका थिए । त्यसअघि उनी माओवादी निकट मानिन्थे ।

ओलीले प्रसाईँलाई पार्टी प्रवेश मात्रै गराएनन्, केन्द्रीय सदस्य नै बनाएका थिए । त्यसपछि उनी ओली र एमालेको प्रशंसा गरेर थाक्दैन थिए । उनले देश बनाउने पार्टी एमाले मात्रै भएको दाबी गर्थे । ओलीलाई दूरगामी नेता भन्थे । बिर्तामोडमा भएको एक कार्यक्रममा भनेका थिए– ‘राजा महेन्द्र जत्तिकै ओली पनि दूरगामी नेता हुन् ।’

तर, अहिले राजा ल्याउने अभियानमा लागेका तिनै प्रसाईँ एमाले र ओलीको कटु आलोचक बनेका छन् । बैंक, लघुवित्त र सहकारीलाई कालोमोसो दल्ने अभियान चलाएका प्रसाईँलाई गत असोज २२ गते एमाले निकट राष्ट्रिय युवासंघले कालोमोसो दलेको थियो ।

एमालेको केन्द्रीय सदस्य त्याग गरेर राजावादी अभियान थालेका प्रसाईँलाई युवासंघका कार्यकर्ताले कालोमासो दलेपछि उनी थप आक्रमक बन्दै आएका छन् । त्यसको प्रतिक्रियास्वरूप झापामा आयोजित युवा संघको कार्यक्रममा प्रसाईँ पक्षधरले गाडी तोडफोड समेत गरेको थियो ।

हिजो सहोदर नातीकै सम्बन्धमा रहेका प्रसाईँले अहिले ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको आरोप लगाउँदै आएका छन् । जसले राजनीति तरंगित छ । प्रसाईँ ओली र युवा संघको लागि नै टाउको दुखाइएको बन्न थालेका छन् ।

संगठन सुदृढीकरण अभियान अन्तर्गतका सडक कार्यक्रमबाहेक प्रसाईँले आन्दोलन सार्वजनिक गरेपछि युवा संघले पनि कार्यक्रम गर्ने घोषणा गरेको छ । युवा सङ्घलाई एमाले नेता महेश बस्नेतले एक भिडियोमा प्रसाईँको कार्यक्रम बिथोल्न समेत निर्देशन दिएका छन ।

प्रसाईँले मंसिर ७ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन घोषणा गरेका छन् । हिन्दु राज्य कायम गर्नुपर्ने, राष्ट्रवादी आन्दोलन, राजसंस्था पुनर्स्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक र आर्थिक सङ्कटका कारण आत्महत्या गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्य हुनुपर्ने लगायतका एजेन्डा अघि सारेका छन् ।

युवासङ्घले पनि मङ्सिर ७ गते नै काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको छ । संघले महँगी, भ्रष्टाचार, अराजकता, राज्यको अकर्मण्यता, माफियागिरी, सामाजिक र धार्मिक सहिष्णुता र सदभाव भड्काउने आपराधिक गतिविधिविरुद्ध माइतीघरमा आन्दोलन गर्ने बताएको छ ।

प्रसाईँ र युवासङ्घले मंसिर सातमा काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेपछि दुई समुहबीच मुडभेटको सम्भावना बढेको छ ।