कार्तिक, ८, राम्नाकोट, कालिकोट । पुरापुर्वकालदेखि मान्दै र पुज्दै आएको धर्म, सस्कृती, परम्परा अनुसार गाउँघरमा देवी, देउताको थानमा जात्रा (मेला) लागेर मठमन्दीरमा मान्दै आएको देवताको पुजा आराधाना गर्दै धामी नाच गर्नुका साथै देउता आएर (धामी) निकास्ने चलन चलिरहेको छ ।
गाउँघरमा देउताको पनि मुल धामी चुन्ने र मान्ने मान्यता प्रचलन अनुसार गाउँघरमा यो रीतिरिजाज रहेको छ । त्यसमा पनि मूल धामी नहुदा धार्मिक कार्यमा थुप्रै बाधा ब्यबधान आउने हुँदा धामिको निकै जरुरत हुने पर्दछ । यस्तै कालिकोटको पचालझरना गाउँपालिका वडा नम्बर ४ राम्नकोटमा त्यहाँको प्रमुख देउता खोदाइको धामी निस्कन नसक्दा र मूल धामी विगतदेखि नहुदा त्यहाँका बासिन्दालाई देउताको पूजापाठमा निकै सकस परेको थियो ।
बि.सं २०४३ सालमा खोदाइका मुल धामी लालबहादुर बमको निधन भएपछि सो स्थान खाली नै थियो । मनमौजी धामी निकाल्न नहुने खोदाइ कसैको शरीरमा नचडेपछि गाउँलेहरु आजित भएका थिए ।
स्वर्गीय मुल धामी लालबहादुर बम कै परिवारका सदस्य पूर्णबहादुर बममा २०७७ सालबाट त्यहाँ हुने मठमन्दिरका पैठमा काम्ने र धामी थलिमा गएर नाच्न (पर्तुन) थालेका थिए । गाउँलेको आकलन अनुसार उनी हरेक बर्ष पैठमा देउता आएर पतुर्ने अनि आगोको गोल माथि पर्तुन थालेका थिए । उनलाई देउता आएपछि खाली खुटा सङ्गै थलिमा बालिएको आगोको धुममाथी छिरेर पतुर्दा खुट्टा वा अन्य शरीरका कुनै भागमा केही नभएको (नपोलिए) पछि त्यही बेलादेखि नै गाउँलेबासीले पूर्णबहादुर बमको शरीरमा खोदाइ चढेको पक्का भएको थियो । अघिल्लो वर्ष नै उनलाई खोदाईको धामी चुन्ने भनिए पनि विविध कारणबस रोकिएको खोदाईको धामी चुन्ने कार्य यो बर्ष २०८० साल कार्तिक ८ गते आज देउताको मौलोमा (खोपा) छिरेर (भित कला) देखाएपछि बिधिपूर्बक पूर्णबहादुर बमलाई खोदाइ देउताको मुल धामी चुनिएको हो । विगत ३७ बर्ष देखि मुल धामी पाउन नसकेको राम्नाकोट बासीले यस वर्षदेखि त्यहाँको प्रमुख देवता (खोदाइ) को धामी प्राप्त भएपछि आजदेखि देवता खोदाई खुशी र समग्र पचालझरनाबासीका साथै मुख्यतय राम्नाकोटबासी खुशीले गदगद भएका छन् ।