Breaking News

कोशीमा ब्युँतदै गठबन्धन, के गर्छ एमाले ?

विश्वासको मत लिन मुख्यमन्त्रीलाई संविधानले नै ३० दिनको समयसीमा दिएको छ। तर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नियुक्तिको पाँचौ दिन नै बुधबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।

यति लामो समयको सुविधा हुँदाहुँदै पाँचै दिनमा विश्वासको मत लिन मुख्यमन्त्री कार्की किन हतारिए?

‘उहाँलाई एकातिर आफ्नै दल नेपाली कांग्रेस पनि सामेल गठबन्धनको दबाब छ’, मुख्यमन्त्री कार्कीनिकट एक सांसदले भने, ‘अर्कातिर आफूलाई मुख्यमन्त्री बनाउन सघाउने नेकपा (एमाले)को दबाब पनि उस्तै छ। रात रहे अग्राख पलाउँछ भन्ने त्रासका कारण सकेसम्म छिटो विश्वासको मत लिन लागिएको हो।’

सत्ता गठबन्धन दलहरूले नेकपा माओवादी केन्द्रका संसदीय दल नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेस नेता शेखर कोइराला समूहले कोशीमा विद्रोह गरेको थियो। त्यसको नेतृत्व मुख्यमन्त्री कार्कीले गरेका थिए।

एमालेका ३९ र कांग्रेसका विद्रोही ८ जना सांसदको समर्थनमा कार्की गत शनिबार मुख्यमन्त्री नियुक्त हुँदा नहुँदै बालुवाटारमा भएको तीन शीर्ष नेता (प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला)बीचको सहमतिको ‘चिर्कटो’ बाहिरिएको थियो।

आफूलाई मुख्यमन्त्री बनाउन आड दिने नेता कोइरालाले बालुवाटारमा प्रधानमन्त्री दाहाल र देउवासँग गरेको ‘चिर्कटो सहमति’ कार्यान्वयन गर्नैपर्ने दबाब कार्कीलाई छ।

कार्कीलाई मुख्यमन्त्री बनाउन पार्टीभित्र ‘विद्रोह’ गरेका नेता कोइरालाले आफू र आफ्नो टिम वर्तमान सत्ता गठबन्धनप्रति प्रतिबद्ध रहेको सहमति गरेका थिए। त्यो सहमतिअनुसार कोशीमा गठबन्धनका दललाई सरकारमा सामेल गराउन मुख्यमन्त्री कार्कीलाई दबाब छ।

‘केन्द्रबाट त सुरुमै एमालेलाई सरकारमा सामेल नगराउन निर्देशन थियो’, मुख्यमन्त्री कार्कीनिकट स्रोतले भन्यो, ‘तर उहाँले पहिले विश्वासको मत लिउँ त्यसपछि कुरा अघि बढाउँला भन्नुभएको छ।’

त्यसो त मुख्यमन्त्री नियुक्त भएलगत्तैदेखि कार्कीले कोशीमा गठबन्धन दलहरुसँग छलफल तीव्र पारेका छन्। गठबन्धन दलहरुसँगको छलफलमा कार्कीले आफूले गठबन्धनभन्दा दायाँबायाँ नगर्ने प्रष्ट वचन दिएको छलफलमा सहभागी नेताहरु बताउँछन्।

‘केन्द्रले गरेको निर्णयभन्दा दायाँबायाँ म जादिनँ भनेर उहाँले बचनवद्धता प्रकट गर्नुभएको छ’, गठबन्धनका एक नेताले भने, ‘त्यसैले प्रदेशमा केन्द्रकै गठबन्धन कायम रहनेमा हामी विश्वस्त भएका छौं। आगामी दिनमा सरकार चलाउन पनि उहाँ गठबन्धनमा नफर्की नहुने अवस्था भएका कारण पनि हामी आश्वस्त भएका हौं।’

त्यसो त मुख्यमन्त्री कार्कीलाई गठबन्धनभन्दा फरक नसोचिएको र उनी गठबन्धनकै मुख्यमन्त्री भएको प्रधानमन्त्री दाहालदेखि कांग्रेस सभापति देउवासम्मले बताइसकेका छन्।

सत्ता गठबन्धनका नेताहरुले यसो भनिरहँदा आफू जुनसुकै बेला विपक्षमा जानुपर्ने त्रासमा एमाले छ। त्यसैले केन्द्रको गठबन्धन प्रदेशमा जस्ताको तस्तै ब्युँतिए तत्कालै सरकार छाड्ने चेतावनी एमालेले दिइसकेको छ।

‘कांग्रेससँग सहकार्य गरेर बाँकी चारै वर्ष प्रदेशमा सरकार चलाउन एमाले तयार छ’, एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘होइन, मुख्यमन्त्री केन्द्रकै गठबन्धन जस्ताको तस्तै ब्युँताउन प्रदेशमा लाग्नुभयो भने एमाले सरकारमा बस्ने छैन।’

एमालेले गठबन्धनका अरु दललाई सरकारमा सामेल गराए पनि माओवादीलाई नगराउन मुख्यमन्त्री कार्कीलाई दबाब दिँदै आएको छ। यद्यपि मुख्यमन्त्री कार्की भने विश्वासको मत लिएलगत्तै माओवादीसहितका दलहरुलाई सरकारमा सामेल गराउने तयारीमा छन्। यसको प्रष्ट संकेत उनले शपथकै बेला गरिसकेका छन्। ‘प्रदेशमा सहमतिको सरकार बन्नेछ’, मुख्यमन्त्रीले भनेका छन्, ‘सबै दल मिलेर अघि बढ्नुको विकल्प छैन।’

माओवादीलाई सरकारमा सहभागी गराउने बित्तिकै एमालेले सरकार छाड्न सक्ने र त्यसबेला केन्द्रमा यसअघि नै भएको सहमतिअनुसार राप्रपाले गठबन्धनलाई सघाउने विश्वास गठबन्धनका नेताहरुको छ।

एमालेले सरकार नछाडे सहमतिको सरकार बन्ने आकलन कांग्रेस नेताहरुको छ। मुख्यमन्त्रीले सपथपछि गठबन्धन दलहरुसँग गरिरहेको बाक्लो छलफललाई एमालेले निको मानेको छैन। तर अन्य दल सहभागी गराए सरकार छाड्ने एमाले धम्कीका बावजुद गठबन्धनमा छलफल गर्न मुख्यमन्त्री हच्किएका छैनन्।

‘उहाँले गठबन्धन दलहरुलाई मिलाएर लैजाने बचन दिनुभएको छ’, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले भने, ‘त्यही भएर माओवादी र हामीले पनि विश्वासको मत दिने तयारी गरेका छौं।’

मुख्यमन्त्री कार्कीकै दल कांग्रेसले सरकारलाई विश्वासको मत दिन निर्देशन दिइसकेको छ। यसरी एमालेसहितका प्रमुख दलहरुले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत सजिलै पाउने देखिन्छ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ।

मंगलबार साँझसम्मको अवस्थामा ३९ जना सांसद रहेको एमाले, २९ सांसद भएको कांग्रेस, १३ जना सांसद भएको माओवादी र ४ जना सांसद भएको एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिनेछन्।

यही अवस्था बुधबारसम्म कायम रहे र सबै सांसद उपस्थित रहे मुख्यमन्त्रीले ९३ मध्ये कम्तीमा ८५ मत पाउनेछन्। गठबन्धनमै रहेको जसपाले के गर्ने टुंगो गरिसकेको छैन। ६ सिट भएको राप्रपाले तटस्थ बस्ने निर्णय गरिसकेको छ।

गठबन्धन दलका नेताहरु कोशीमा एमाले सत्ता बाहिर बन्ने दिशातिर राजनीतिक परिस्थिति विकास हुँदै गएको बताइरहेका छन्।

‘मुख्यमन्त्रीले नियुक्तिका लागि पार्टीमा विद्रोह गर्नुभयो, एमालेको साथ लिनुभयो’, गठबन्धनका एक नेताले भने, ‘तर सधैं पार्टी र गठबन्धनबाट फरक रहेर अघि बढ्न नसकिने कुरा उहाँलाई थाहा छ। सोही अनुसार गठबन्धन दलहरु विश्वस्त छौं।’

सेतोपाटीबाट

लेखक : राजु अधिकारी