चन्द्रमाको अन्वेषण गर्न चन्द्रयान ३ मा राखेर पठाएका विक्रम ल्यान्डर प्रज्ञान रोभर सम्पर्कविहीन भएका छन्।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का अनुसार सेप्टेम्बर २ देखि विक्रम र प्रज्ञानलाई ‘स्लिप मोड’ मा राखिएको थियो।
चन्द्रमामा रात परेपछि इसरोले विक्रम र प्रज्ञानको ऊर्जा बचत गर्न स्लिप मोडमा पठाएको थियो। रातभरि ऊर्जा जोगाएर फेरि सूर्योदय भएपछि उनीहरूलाई जगाएर काममा खटाउने इसरोको योजना थियो। अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार चन्द्रमामा एक दिन पृथ्वीको लगभग साढे २९ दिनजति लामो हुन्छ। रात पनि त्यति नै लामो हुन्छ।
सेप्टेम्बर २२ मा इसरोले सामाजिक सञ्जाल एक्समा स्टाटस लेख्दै विक्रम र प्रज्ञानलाई जगाउन पठाएको सन्देशको जवाफ नआएको जानकारी दिएको छ।
‘अहिलेसम्म उनीहरूबाट कुनै संकेत प्राप्त भएको छैन। सम्पर्कको प्रयास जारी रहनेछ,’ इसरोले भनेको छ।
भारतीय सञ्चारमाध्यम लाइभमिन्टका अनुसार इसरोले अक्टोबर ६ सम्म विक्रम र प्रज्ञानसँग सम्पर्कको प्रयास जारी राख्नेछ।
चन्द्रमामा राति तापक्रम माइनस १०० डिग्री सेल्सियसभन्दा तल झर्छ। न्युयोर्क टाइम्सका अनुसार विक्रम र प्रज्ञानका पाटपुर्जा त्यति चिसोमा चल्ने गरी डिजाइन गरिएको थिएन। चन्द्रयान-३ मिसन कम खर्चमा गरिएकाले विक्रम र प्रज्ञानमा हिटर राख्ने वा त्यति चिसोमा चल्ने पाटपुर्जा जोडिएको थिएन।
गत अगस्ट २३ मा नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेट भारतले पठाएको चन्द्रयान-३ को विक्रम नाम ल्यान्डर चन्द्रमाको सतहमा पुगेको थियो।
विक्रम चन्द्रमामा ल्यान्ड भएसँगै भारत चन्द्रमामा यान पठाउने संसारको चौथो मुलुक बनेको थियो भने चन्द्रमाको दक्षिण ध्रुवमा यान पठाउने पहिलो मुलुक बनेको थियो।
गत जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो।
चन्द्रयान-३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण भाग थिए।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो।
विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ। प्रज्ञानको तौल २६ किलो छ।
सन् २०१९ मा भारतले पठाएको चन्द्रयान-२ को ल्यान्डर अवतरण हुने क्रममा दुर्घटनामा परेर सम्पर्कविच्छेद भएको थियो।
इसरोका प्रमुख श्रीधर पानिकर सोमनाथले २०१९ मा अवतरणका क्रममा भएका प्राविधिक गल्तीलाई यसपालि सच्याइएको बताएका थिए।