काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् ।
पछिल्लो मत गणनाअनुसार ७५ मत गणना सकिँदा पारसले ४३ मत ल्याएका छन् भने प्रशान्तको ३२ मत छ । अब १० मत मात्रै गन्न बाँकी छ । त्यसैले मतगणना नसकिँदै पारस प्राविधिक रुपमा विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् ।
यसअघि अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् । क्यानको शनिबार भएको निर्वाचनमा चन्द पुनःअध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
संघको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भएका छन् । यस्तै, महिला सदस्यमा जयन्ती भट्र्ट निर्विरोध निर्वाचित भए । सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भएका छन् ।