Breaking News

प्रजातन्त्रदेखि निरंकुशतासम्म : कम्बोडियामा अर्को एकतर्फी निर्वाचन जित्ने बाटोमा हुन सेन

फनोम पेन । विश्वमै सबैभन्दा लामो शासन सत्ता चलाएका नेताहरू मध्ये एक कम्बोडियाका प्रधानमन्त्री हुन सेन उल्लेख्य प्रतिस्पर्धा बिनाको अर्को निर्वाचन जित्ने बाटोमा छन् । यो निर्वाचनमार्फत उनले आफ्नो छोराका लागि सत्ताको पथ निर्माण गर्ने बताइएको छ ।

७० वर्षीय हुन सेन सन् १९८५ देखि कम्बोडियाको सत्तामा छन् । उनीभन्दा धेरै समय क्यामरुन र इक्वेटोरियल गिनियाका शासकहरू मात्र सत्तामा रहेका छन् ।
दक्षिणपूर्वी एसियाली राष्ट्रका जनता आइतबार सातौँ आम निर्वाचनमा सहभागी हुँदैछन् । हप्तौँको चुनावी अभियान र विपक्षी दलका शीर्ष नेतामाथिको धरपकडपछि कम्बोडियन पिपल्स पार्टी (सीपीपी) प्रतिस्पर्धा बिना नै चुनावमा अग्रस्थानमा रहेको छ ।

‘अन्य तानाशाहहरु जस्तै हुन सेनले कहिले पनि आफ्नो सत्ता छाड्ने छैनन्,’ कम्बोडियाक नेता मु सोचाउले भनिन् । मन्त्रीसमेत रहिसकेकी उनले अहिले देश छाडिसकेकी छन् ।

‘जुलाई २३ को निर्वाचन हुन सेनले आफ्नो निर्णय कम्बोडियाका जनतालाई लाद्ने दिन मात्र हो,’ उनले भनिन्, ‘उनको निर्मम राजनीति र विपक्षी दल र आलोचकहरूलाई समाप्त पार्ने अभ्यास आफ्नो शक्ति जोगाउन र त्यसलाई आफ्नो जेठो छोरामा हस्तान्तरण गर्नु नै हो ।’

१ करोड ६५ लाख जनसङ्ख्या भएको देशमा लामो समय राजनीतिक अस्थिरता रहेको थियो । खेमर रुज शासनले आफ्नो जनतामाथि नरसंहार मच्चाएको थियो । पूर्व खेमर रुज कमान्डर रहेका हुन सेनले पछि आफ्नो पक्ष बदल्दै कम्बोडियामा झण्डै चार दशक शासन चलाइरहेका छन् ।

सुरुवाती चरणमा देशमा निर्वाचन प्रतिस्पर्धात्मक हुन्थे । तर, पछिल्लो समय हुन सेन थप निरङ्कुश बन्दै गएका छन् । उनले असहमतिलाई कुल्चिँदै आलोचकहरूलाई जेल कोच्ने काम गर्दै आएका छन् । यसले गर्दा धेरै विदेश पलायन हुन बाध्य बनेका छन् ।

सीपीपीले अन्य साना १७ वटा राजनीतिक दलहरूलाई देखाउँदै आफू अझै पनि बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने तर्क प्रस्तुत गर्दै आएको छ । तर, यो दाबीलाई अधिकारवादी संस्था र राजनीतिक पर्यवेक्षकहरूलाई खारेज गरेका छन् । कम्बोडियामा सशक्त विपक्षी दल र नेताहरूलाई प्रतिबन्ध वा पक्राउ गरिएको उनीहरूको भनाई छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो निर्वाचनले हुन सेनबाट उनका छोरा हुन मानेटलाई सत्ता हस्तान्तरणको बाटो निर्माण गर्नेछ । तीन सन्तानमध्येका जेठो ४५ वर्षीय हुन मानेटलाई लामो समयदेखि उनको उत्तराधिकारीका रूपमा हेरिएको छ ।

फनोम पेनमा हुर्किएर त्यहीँ पढेका हुन मानेट सन् १९९५ मा कम्बोडियाको सेनामा आबद्ध भएका थिए । त्यही वर्ष उनले अमेरिकी मिलिटरी एकाडेमीबाट चार वर्षको डिप्लोपामा पुरा गरेका थिए । यो प्रतिष्ठित विद्यालयबाट स्नातक पुरा गर्ने उनी पहिलो कम्बोडियन हुन् ।

उनले सन् २००२ मा न्युयोर्क विश्वविद्यालयबाट र सन् २००८ मा युनिभर्सिटी अफ ब्रिस्टोलबाट इकोनोमिक्समा ड्रिग्री हासिल गरेका थिए ।

सन् २०२१ को एक भाषणमा हुन सेनले आफ्नो छोरा देशको ‘भविष्यको प्रधानमन्त्री’ भएको घोषणा गरेका थिए । यो वर्ष हुन मानेटले कम्बोडियाको संसद्मा डेब्यू गर्नेछन् ।

कम्बोडियामा सन् २०१३ देखि विपक्षीमाथि व्यापक धरपकड सुरु भएको हो । त्यतिबेला विपक्षी दलहरूको गठबन्धन द कम्बोडियन नेसनल रेस्क्यू पार्टी (सीएनआरपी)ले ४० प्रतिशतभन्दा बढी मत हासिल गरेको थियो ।

त्यसपछि विपक्षी दलहरूले ठुलो प्रदर्शन सुरु गरेका थिए । सन् २०१७ मा कम्बोडियाको सर्वोच्च अदालतले सीएनआरपीमाथि प्रतिबन्ध लगाएको थियो । पार्टी दर्जनौँ नेताहरूलाई जेल हालिएको थियो भने अन्य देश छाडेर पलायन भएका थिए ।

यो वर्ष पनि सोही ‘स्क्रिप्ट’ लागू गरिएको छ । सीएनआरपीको झल्को दिने द क्यानडल लाइट पार्टी मात्र हुन सेनका लागि थोरै भए पनि चुनौतीका रूपमा रहेको थियो । तर, राष्ट्रिय निर्वाचन समितिले कागजातमा दोष देखाउँदै उक्त पार्टीलाई प्रतिबन्ध लगाएको छ ।

निर्वाचन अघि अन्य विपक्षी दलहरूलाई कम्बोडियाको सरकारी अधिकारीहरूले दुःख दिने गरेको अधिकारवादी संस्थाहरूले जनाएका छन् । –सीएनएन

एजेन्सी