प्रचण्डको अडानले आत्तिए ओली

बाघले घाँस खाँदैन भन्दै प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले ललिता निवास जग्गा काण्ड, मातातीर्थ जग्गा काण्ड, सर्दु जलाधर जग्गा सट्टा भर्ना काण्ड, धोबीखोला जग्गा काण्ड, ओम्नी कोरोना उपकरण खरिद काण्ड, वाइडबडी जहाज खरिद काण्ड, क्यान्टोन्मेन्ट नक्कली लडाकु काण्डलगायतका काण्डहरुको छानबिन गरेर कारबाही अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसद्मा आफ्नो आक्रोशपूर्ण अभिव्यक्ति दिँदै ओलीले नीति तथा कार्यक्रममा यी काण्डहरुको छानबिन गरेर कारबाही अगाडि बढाइने कुरा किन लेख्न सकिएन भनेर सदनमा उफ्रिए । वास्तवमा यी सबै काण्डको छानबिन गर्ने हो भने कुनै पनि नेता उम्कन सक्दैनन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दह्रो अडान लिएपछि आत्तिएका प्रतिपक्षी दलका नेता ओलीले संसद्मा दोषीलाई उम्क्याउन खोजेको र निर्दोषलाई फसाउन खोजेको आरोप लगाए ।

यसको अर्थ ओलीको दृष्टिमा टोपबहादुर रायमाझी अझै निर्दोष हुन् । त्यही भएर ओलीले सीमा नाघेरै रायमाझीको प्रतिरक्षा गर्दै आएका छन् । प्रहरीको अनुसन्धानको घेरामा रहेका रायमाझीमाथि निष्पक्ष छानबिन गर्नका लागि पनि दुईपटक प्रधानमन्त्री भएका नेताले त्यसरी बोल्न हुँदैन थियो ।

जहाँसम्म जुन–जुन काण्डको छानबिन गरेर दोषीमाथि कारबाही गर्न संसद्मा ओलीले सरकारलाई चुनौती दिए, त्यसमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सक्दैन भन्ने कुरा उनलाई राम्रैसँग थाहा छ ।

किनभने, ओलीले नाम लिएका र नाम नलिएका धेरै काण्डहरु नीतिगत भ्रष्टाचारमा पर्छ । जसको अनुसन्धान गर्ने अधिकार अख्तियारलाई
छैन । बरु ओलीले यी सबै काण्डहरु छानबिन गरेर भ्रष्टाचारीहरुमाथि कारबाही गर्न पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा अधिकार सम्पन्न आयोग गठनको माग गरेको भए कारबाही सम्भव हुने थियो ।

साँच्चै, ओली मुलुकमा सुशासन कायम गर्न तयार हुन् भने उनले नक्कली भुटानी प्रकरणमा सरकारले उठाएको कदमको खुला हृदयले स्वागत गर्नुपथ्र्यो । सरकारलाई धन्यवाद दिँदै अन्य ठूला भ्रष्टाचारको छानबिन गर्न आफूले पनि सघाउने प्रतिबद्धता जनाउनु पथ्र्यो । त्यसो नगरी संसद्मा सरकारको खिसीट्युरी गर्दा आम जनतामा ओलीको छवि धुमिल भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणबाट ओली घाइते बाघजस्तो बनेका छन् भने एमाले नेता कार्यकर्ता नुन खाएको कुखुराजस्तो भएका छन् । रायमाझीलगायत अन्य ओलीनिकटको नाम पनि चर्चा छ । त्यसैले नक्कली भूटानी शरणार्थीको पोल खुल्दै जाँदा को–को पर्ने हुन् एमाले कार्यकर्ताहरु चिन्तित छन् ।

मुखले नबोले पनि एमालेका इमान्दार कार्यकर्ताहरुलाई नक्कली भुटानी शरणार्थीमा ओलीनिकट क–कसको संलग्नता छ भन्नेबारे थाहा छ ।

संसद्मा ओलीको भाषण सुन्दा नक्कली भुटानी शरणार्थी प्रकरण नौलो होइन । आफ्नै पालामा अमेरिका पुगेका धेरै नेपाली शरणार्थीको नाममा गएको पुष्टि हुन्छ । त्यसैले उनले नक्कली शरणार्थीको बारेमा जेठ ४ गते संसद्मा बोल्ने भनेका थिए, तर बोलेनन् । यस अगाडि अमेरिका पुगेका नक्कली शरणार्थीको विषयमा पनि बोलेको भए प्रहरीले थप अनुसन्धान गर्न सहज हुने थियो ।

ओली प्रधानमन्त्री भएको बेला गठित पन्थी समिति सक्कली भुटानी शरणार्थीलाई अमेरिका पठाउन गठन गरिएको थियो कि भुटानीका नाममा नेपाली पठाउन गठन गरिएको थियो ? भन्ने कुरा पनि रहस्यकै गर्भमा छ । किनभने, त्यही प्रतिवेदनलाई टेकेर नक्कली शरणार्थी खडा गरिएको तथ्य अहिले बाहिरिएको छ ।

त्यतिबेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ थिए । यस प्रकरणमा बादलका छोरा फरार हुनु, मन्त्रीका विज्ञ पक्राउ पर्नुले ‘बादल’ उम्कने ठाउँ छैन । टोपबहादुर रायमाझीपछि बादल पक्राउ पर्ने डरले ओलीले सरकारमाथि ‘निर्दोष’ नफसुन् भनेर दबाब बढाइरहेका छन् । नभए, ओली यति धेरै आत्तिनुको अरु कारण छैन ।

दृष्टिबाट