९ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष शमशेर मियाँले आफूले प्रयोग गरेको सरकारी गाडी सन्देश शर्मालाई प्रयोग गर्न दिएको सकारेका छन् ।
पक्राउ परेपछि सरकारी वकिलको रोहवरमा प्रहरीलाई बयान दिने क्रममा शर्माले पारिवारिक समस्या बताएपछि आफूले गाडी दिएको र त्यसबाहेक अरु थाहा नभएको दावी गरेका छन् ।
आफू रामबहादुर थापा बादलको कार्यकालमा हज समितिको अध्यक्षमा नियुक्त भएको, बादलका छोरा प्रतीक थापासँग सन्देश शर्मा प्रायजसो सँगसँगै रहने भएकाले चिनाजान भएको उनले बयानमा स्वीकारेको प्रहरी स्रोत बताउँछ ।
सानु भण्डारी, केशवप्रसाद दुलाल र सन्देश शर्माबीच निकै राम्रो सम्बन्ध रहेको बताउँदै उनले उनीहरु गृह मन्त्रालयका सल्लाहकार इन्द्रजित राईलाई भेट्न बारम्बार जाने गरेको स्वीकारेका छन् । उनले बयानमा भनेका छन्, ‘सानु भण्डारी र केशवप्रसाद दुलाललाई गृह मन्त्रालयमा आउन कुनै रोक थिएन ।’
उनले आजभन्दा दुई वर्ष पहिले बखुण्डोलस्थित टंककुमार गुरुङको रिसोर्टमा नेपालीलाई तेस्रो मुलुकमा पठाउने काम भइरहेकोबारे कुराकानी सुनेको स्वीकारेका छन् । अनि उनीहरु पक्राउ परेपछि आफू समेत पक्राउ पर्ने डरले आफूले बोकेको सिमकार्ड फालेको पनि मियाँले स्वीकारेका छन् ।
उनले बयानमा भनेका छन्, ‘म समेतलाई प्रहरीले खोजतलास गर्दैछ भन्ने थाहा पाई म डरत्रासमा भागी उक्त मोबाइल फ्याँकेको हो ।’