अन्ततः मैले न्याय पाइनँ । कसरी पाउँछु न्याय ? थारूले न्याय पाएको इतिहास नै कहाँ छ र ? अधिकांश थारूहरूलाई हार प्रमाणीकरणको लालमोहर लगाउने नै न्यायालय हो । करिब ४ लाख पटक भन्दा बढी जमिनी मुद्दाको हार बेहोरेका छन् न्यायालयबाट थारूहरूले । सत्य यही हो, सदियौँदेखि जोतभोग गर्दै आइरहेको जमिनको न्यायिक फैसला नभएकै कारण थारूहरू कमैया बन्न पुगे । मुद्दामामिलाका कारण थारूहरूको जमिन मात्रै गुमेन, चाँदीको सिक्कासमेत स्वाहा भयो । विगतदेखि वर्तमानसम्म न्यायालय र प्रशासनको सिकार भएकै छन् थारूहरू । साँच्चै भन्दा नश्लीय शासकको नोकरवाद लाद्ने गधा बनाइएका छन् थारूहरू ।
गरिदियो । ‘तँ थारू होस्, प्रवासमै बसेर चुनाव जित्ने अधिकार कहाँ छ तँलाई ? ठानेर होला न्यायालयले मेरो निवेदन लिन मनासिब नै ठानेन ।
हो ? टीकापुर घटना राजनीतिक घटना हो । २०७२ भाद्र ७ गते थारूहरूको जुलुस टीकापुर बजारमा ‘थरुहट प्रदेश’ लेख्न गएकै हो । तर टीकापुरमा थरुहट प्रदेश लेख्ने आन्दोलनको आह्वान मेरो निर्देशनमा होइन । जेठानको देहान्त भएकाले भाद्र ४ गतेसम्म त म काठमाडौँमै थिएँ । धनगढीमा हुने सर्वदलीय बैठकमा भाग लिन गइदिनुपर्यो भन्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका नेता भीम रावलको आग्रहमा म धनगढी गएको हुँ । आन्दोलन चलिरहेकाले भाद्र ७ गतेसम्म सुरक्षाकर्मीको सबै बन्दोबस्त मलाई पूर्वगृहमन्त्री भीमबहादुर रावलले नै गरिदिनुभएको हो । भाद्र ६ गते टीकापुर सशस्त्र प्रहरी उग्रतारा गणमा भएको सर्वदलीय बैठकमा सबैलाई मैले भनिदिएकै हुँ– ‘आन्दोलन मेरो नियन्त्रणमा छैन, म यो आन्दोलनको संयोजक पनि होइन ।’
अनि म दोषी भएँ कसरी ? भाद्र ७ गते बिहान ९ बजेसम्म मैले के प्रयत्न गरिनँ ? थारू आन्दोलनको भीडमा जाऊँ, कमरेड विकासले मारिदिन्छु भन्याछन्, अखण्ड सुदूरपश्चिमको भीडमा गए मेरो कपाल पनि बच्नेवाला थिएन । सुरक्षाकर्मीसँग सल्लाह गर्न खोज्यो, तँ आन्दोलनकर्मी होस् भन्छन् । कतै केही सिप नलागेपछि म रेडियो हेर्न बर्दियातिर लागेको हुँ ।
भाद्र ७ गतेको घटनापछि म भारतमा हुँदासमेत सामाजिक सद्भाव खलबलिन नदिन के मात्रै प्रयत्न गरिनँ मैले । म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सम्पर्कमै थिएँ । भारतबाटै केवालाल चौधरीको संयोजकत्वमा एमाले नेता भीमबहादुर रावलसँग वार्ता गर्न पठाइदिएकै हुँ । प्रवासमा मलाई उकास्ने कति थिए कति ? यदि म अर्काको उक्साहटमा मात्रै लागेको भइदिए आज देश जातीय द्वन्द्वमा फसिरहेकै हुन्थ्यो होला ।
एकान्तमा एक्लै गम्छु, टीकापुर घटनाको दोषी करारलाई ब्रह्मा, विष्णु, महेश्वर, जिसस, अल्लाह, बुद्ध कसैले पनि प्रमाणित गर्न सक्दैन होला मलाई । तर सम्मानित सर्वाेच्च अदालतले दोषी करार गरिदियो । साँच्चै भन्दा मैले न्याय पाइनँ । अर्काको भावनामा बगेर मलाई अपराधी ठहर गर्न पाइन्न । श्रीमान्ले मेरो बयान पढिदिनुभएन, मिसिल हेरिदिनुभएन जस्तो लाग्यो । त्यसैले मेरो हकमा न्याय भएन; फैसला मात्रै भयो, पपुलिस्ट फैसला । सुरु अदालत, पुनरावेदन सुन्ने अदालत र अन्तिम अदालत सबै पपुलर मात्रै बन्न खोजे । आज न्यायलाई विश्वले समेत ढोग्छ । ढोग्नै नमिल्ने फैसलाको कपी बोकेर म कुन न्यायालयको ढोका खट्खटाउन जाऊँ ?
टीकापुर घटना नहुनु पथ्र्यो, भयो । आठ प्रहरी र एक बालकले सहादत प्राप्त गरेकै हुन् । तर के ती सहिदहरूको संहार कुनै बन्द कोठा वा गुफामा गरिएको हो ? त्यो घटनाका प्रत्यक्षदर्शी पनि त हज्जारौँ थिए । मिसिलमा उल्लेख गरेजस्तो भाला, बन्चरो कुनै थारू आन्दोलनकर्मीले बोकेका थिएनन् । कसैलाई दोषी करार गर्ने मलाई कुनै हक छैन तर वास्तविक घटना कसले गरायो, त्यो टीकापुरलाई थाहा छ । सहादत प्राप्त गर्नेको परिवारले पनि अन्तिम सत्य थाहा पाउनुपर्छ । मेरो श्रीमान्, दाइ, भाइ, छोराको हत्या के कसरी भयो, कसले कसरी मारे ? किन मारे ? त्यो अन्तिम सत्य थाहा पाउने चेष्टा पनि प्रहरी परिवारले गर्नैपर्छ । उहाँहरूको मनमा एउटा शङ्का उब्जि नै पर्छ– ‘कतै विभीषणको भेषमा आफ्नै भाइहरू हत्याराको झुन्डमा मिसिएका त थिएनन् ?’
नेपाली दाजुभाइ दिदीबहिनीहरू ! यदि म ती सहादत प्राप्त सहिदको हत्यारा हुँ भने मलाई फाँसी किन नदिने ? भाला घोचीघोची आठ सुरक्षाकर्मी र एक दुधेबालकको हत्यारालाई जन्मकैदको सजायले मात्रै पुग्छ र ? त्यति क्रुर अपराधीलाई यति सहज सजाय साह्रै अपुग हुन्छ । म भन्छु, म हत्यारा हुँ भने मैले मारेको हतियार कहाँ छ ? त्यसैले न्याय मैले पाउनै
पर्छ । न्यायको आशा अझै मरेको छैन ।
यो मेरो सानो रोष मात्रै हो, जसलाई नलेखी म बस्नै सकिनँ । कति सत्य चाहेर पनि लेख्न सकिरहेको छैन । इच्छाउँदैमा सबै कुरा लेख्नु पनि हुन्न । तर तीन तीनवटा फैसलाको खोटले साह्रै चोट दिएको छ मलाई, सहनै नसकिने चोट । व्यर्थै चोट सहिरहनुभन्दा एक पटकको मृत्युदण्ड जाति हुन्थ्यो ।
अब मलाई २ अत्यन्तै महत्त्वपूर्ण निर्णय चाहिन्छ– कि न्याय कि मृत्युदण्ड ! साँच्चीकै दोषी भए मृत्युदण्ड स्वीकार गरेर टुँडिखेलमा सबैको सामु झुन्डिएर मर्ने इच्छा छ मेरो । नभए मलाई न्याय दिनैपर्छ ।
सम्मानित सर्वोच्च अदालतको फैसलाबाटै मेरो छोरा छुट्छ र घर लिएर जाउँला भनेर मलाई लिन आएक मेरी आमा जेलमा मेरो मुख हेर्नसमेत आउन सकेकी छैनन् ।
चोट लागेर रोष प्रकट गरेको जस्तो देखिए पनि सत्य यही हो । न्यायका लागि कुन कुन, कहाँ कहाँसम्मको दैलो चहार्नुपर्छ, त्यो प्रयत्न मैले जरुर गर्छु ।
अन्त्यमा गीतको एक टुक्काबाट बिट मार्न चाहन्छु–
श्रीमान्, न्याय देऊ हामीलाई क्षमा चाहिँदैन
दोषीलाई दण्ड देऊ तर निर्दोषलाई थुन्न पाइँदैन ।
रातोपाटीबाट