वैशाख १० गते सम्पन्न बारा, चितवन र तनहुँको उपनिर्वाचन परिणामले ठूला दललाई झस्काएको छ । २००७ सालदेखि ०६२/६३ को आन्दोलनको नेतृत्व गरेका ठूला दलहरू यस उपनिर्वाचनमा नराम्रोसँग पराजित भएका छन् । ठूला दलका केही नेताहरू निर्वाचन परिणामबारे गहन समीक्षा गर्नुपर्ने ठाउँसम्म पुगेका छन् भने सत्तारुढ माओवादी केन्द्र प्रतिक्रान्तिको खतरा देखिरहेको छ ।
यो कुरा माओवादीको आफ्नो असफलता ढाकछोप गर्ने अस्त्र मात्र हो । माओवादीकै कारण मुलुकमा झन् बेथिति बढेको कारण आम जनता निराश छन् । त्यही भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं चितवन छाडेर गोरखा भाग्नुपरेको थियो ।
उपनिर्वाचन भनेको मिनी जनमतसंग्रह पनि हो । यसपटकको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन र तनहुँमा अत्यधिक मत ल्याएर निर्वाचन जिते । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका उम्मेदवारलाई भोट दिने मतदाताले पनि यसपटक ‘घण्टी’लाई मत दिएको निर्वाचन परिणामले देखाएको छ । यसको अर्थ जनताले परिणाममुखी परिवर्तन चाहन्छन् भन्ने नै हो ।
नेपालको हरेक आन्दोलनमा जनताको सहभागिता परिवर्तनका लागि हो । जुन आन्दोलनले परिवर्तन ल्याउन सक्दैन, फेरि जनता आन्दोलनको विकल्प आन्दोलन रोज्न बाध्य हुन्छन् । उपनिर्वाचनको परिणाम मौन विद्रोहको संकेत हो । जसले हिजो जुन निर्वाचन चिन्हमा भोट हालेका थिए, त्यसले आज त्यो निर्वाचन चिन्ह छाडेर ‘घण्टी’मा भोट हाल्यो ।
यसको मतलब कांग्रेस र एमालेजस्ता ठूलो दलप्रति जनताको विद्रोह हो । यसलाई सामान्य ढंगले हेरिनु हुन्न । जनताद्वारा जनताका लागि शासन गर्न पुगेका राजनीतिक दलका नेताहरू बिग्रिएकै कारण ठूलो दलप्रति जनतामा वितृष्णा जागेको हो । यस्तै वितृष्णा जाग्दै जाने हो भने देश अराजकताको भड्खालोमा जाकिन सक्छ । त्यसैले मिडियाले बारम्बार ठूला दलका नेताहरूलाई सच्चिन खबरदारी गर्दै आएको पनि छ ।
यस पृष्ठभूमिमा जनताको मौन विद्रोहका रुपमा सञ्चारकर्मी रवि लामिछाने नायकको रुपमा उदाएका छन् । उनी कुनै राजनीतिक दलका नेता, कार्यकर्ता होइनन् । एउटा सञ्चारकर्मीको नाताले उनले पनि सञ्चारमाध्यममा देशमा झांगिएको विकृति र विसंगतिको भण्डाफोर गर्दै आएका थिए ।
फरक यत्ति हो, लामिछानेले विगतमा टेलिभिजनमा बोल्थे, आज सडकमा आएर बोल्न बाध्य छन् । यो परिस्थितिको सिर्जना पनि स्वयं ठूला दलका नेताहरूकै भ्रष्ट चरित्रले गर्दा भएको हो ।
ठूला दलका नेता देश र जनताप्रति इमान्दार भइदिएको भए नेपाली राजनीतिमा लामिछानेको उदय हुने नै थिएन । न त लामिछानेले टेलिभिजनको पर्दामा चोर औला नै ठड्याउनु पथ्र्यो ।
नेतृत्व भन्ने कुरा समयको माग पनि हो । हिजो नेपाली जनताले कहिले कांग्रेस, एमाले त कहिले माओवादी रोजेकै हुन् । यी पार्टीहरू आफ्नो एजेण्डाबाट विमुख भएको कारण जनता विकल्पको खोजीमा लाग्न बाध्य भएका हुन् । जनताको मौन विद्रोहलाई प्रतिक्रान्ति देख्नुभन्दा पनि नेताहरूले आफ्नो कमजोर सच्याउनु बुद्धिमानी हुनेछ ।
रवि लामिछानेको एउटै एजेण्डा सुशासनमा केन्द्रित भएजस्तो लाग्छ । देशको अवस्था दिनप्रतिदिन खस्कँदै जानुमा नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुब्नु पनि एउटा कारण हो ।
हिजो गाउँका झुपडीमा आश्रय लिएका नेताहरू आज अर्बपति भएको जनताको आँखाले देखेको छ । आखिर, राजनीतिमा लागेर यत्रो सम्पत्ति कसरी जोडे ? यो गम्भीर प्रश्न हो ।
जब राजनीतिमा लाग्ने नेता, कार्यकर्ताले नैतिक धरातल बिर्सन्छन्, तब तिनलाई नैतिकताको पाठ सिकाउन कोही न कोही जन्मनुपर्ने हुन्छ । अहिले रवि लामिछाने जन्मिएका छन् । उनको राजनीतिक यात्रा हेर्न बाँकी छ ।
उनीप्रति अहिले नै सकारात्मक, नकारात्मक टिप्पणी गर्नु उचित हुँदैन । तर, उनले जुन एजेण्डालाई मुख्य एजेण्डा बनाएका छन्, त्यो एजेण्डा एकदम ठिक छ भन्ने कुरा उपनिर्वाचन परिणामले पुष्टि गरेको छ ।
अब पनि नेताहरूले जेल, नेलको इतिहास भजाएर ब्याज खाने काम गर्ने हो भने जनताले छाड्ने छैनन् । किनभने, देश र नेपाली जनतालाई रसातालमा पुर्याउने यिनै नेताहरू हुन् ।
दृष्टिन्यूजबाट