मन्त्री खेलाउने शक्तिशाली बिचौलिया

काठमाडौं । देशमा बिचौलियाहरू कति शक्तिशाली छन् भन्ने कुरा हालैको शरणार्थीसम्बन्धि मुद्दाले देखाएको छ । मन्त्री र सचिव फेरिदा पनि एक बिचौलिया समूहले पाँच वर्षसम्म गृह प्रशासनलाई आफु अुनुकल चलाएर नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयास गरेको थियो । तिनै बिचौलियाको जालमा पर्दा बहालवाला सचिव नै यतिबेला प्रहरी हिरासतमा पुगेका छन् ।

रामचन्द्र भट्ट र तारानाथ सापकोटा

सचिव टेकनारायण पाण्डे एक सातादेखि प्रहरी हिरासतमा छन् । कुनै समय राम्रो छवी भएका उनलाई यो अवस्थामा पु¥याउने बिचौलिया समूह नै भएको जानकारहरू बताउँछन् ।

लामो समय लो प्रोफाइलमा बसेका सचिव पाण्डेलाई तीन वर्षअघि बिचौलिया समूहले नै भूमि व्यवस्था मन्त्रालयको सचिव बनाएको थियो । भूमि व्यवस्थामा आफुअनुकुल काम गराउन जग्गा दलालका रुपमा चिनिएका तारानाथ सापकोटाले केपी ओलीलाई समेत प्रभावमा पारी उनलाई मन्त्रालयमा लगेका थिए ।

त्यहीबेला भूमि सम्बन्धि नियमावली नै संशोधन गरी विभिन्न व्यापारीलाई हदबन्दी भन्दा धेरै जग्गा राख्ने अनुमति मात्र दिइएन गिरि बन्धु टि स्टेटको जग्गा बेच्ने योजनासमेत अघि बढेको थियो । तर, पछि अदालतले रोकेपछि अर्बौँको चलखेल फेल खाएको थियो ।

भूमि व्यवस्थामा त्यसरी सहयोग गरेकै आधारमा बिचौलियाले २०७८ को साउनमा पाण्डेलाई गृह मन्त्रालय लगेका हुन् । जबकि, त्यतिबेला गृहको अनुभव भएका धेरै सचिवहरू प्रतिस्पर्धामा थिए । बिचौलियाहरू सापकोटासँगै रामचन्द्र भट्टले उनलाई गृह लगेका थिए । दुवै जना आरजु देउवानिकट हुन् ।

सापकोटा त कुनै समय आरजुका भाई भूषण राणाका कामदार नै थिए । त्यही बेलादेखि उनी जग्गा दलालीमा लागेका
हुन् । कतिपय सरकारी जग्गासमेत उनीहरूले कागजपत्र मिलाएर बिक्री गरेको स्रोत बताउँछ । ‘राज्यका हरेक क्षेत्रमा यिनीहरूको हालिमुहाली छ,’ जानकार स्रोत भन्छ, ‘आरजु मात्र होइन हरेक पार्टीका कोर टिमलाई उनीहरूले हात लिएका छन् ।’

जुनसुकै सरकार फेरिए पनि सिंहदरबारमा मन्त्री र सचिवभन्दा उनीहरू शक्तिशाली हुने गरेका छन् । हालै सांसद अमरेशकुमार सिंहले पनि यिनै दुईजना देशका ठूला बिचौलिया भएको भनेर नाम लिएका हुन् । उनीहरूमाथि छानबिन गर्न सके देशमा भ्रष्टाचारको मुहान पत्ता लाग्ने बताइन्छ ।

दृष्टिन्यूजबाट