भुटानी शरणार्थी प्रकरणले ओलीलाई संकट

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डको एक पक्ष त उजागर भयो । तर, यही काण्डको अर्को पक्ष पनि छ, त्यो के भने शिविरमा बाँकी रहेका भुटानीलाई अमेरिका पठाउने नाममा पनि करोडौं उठाइएको छ । त्यस पक्षमाथि पनि खोजबिन गर्न सकियो भने यो काण्डलाई तात्त्विक निष्कर्षमा पुर्याउन थप सहयोग पुग्ने छ ।

एमालेतिर चोरऔँला ठडिएको यो काण्ड ओलीका लागि जीवनमरणको प्रश्न बनेको छ । उनी आफैँ प्रधानमन्त्री भएको बेला सुरु भएको यो काण्डमा नैतिकरूपमा उनी आफैं तानिएका छन् । पार्टीका उपाध्यक्ष बादल र सचिव रायमाझी नै यसमा प्रत्यक्षरूपमा मुछिएका छन् ।

अर्का एमाले सांसद तथा बादलपत्नी नैनकला थापा पनि तानिएका छन् । ओलीका स्वकीय सचिव राजेश बज्राचार्य पनि मुछिसकेका छन् । यसरी एकपछि अर्को गरेर आफ्ना सबै तानिसकेपछि ओलीको बेचैनी ह्वात्तै बढेको छ र उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारतिर तारन्तार धाउन थालेका छन् ।

नेपालमा अहिले भुटानी शरणार्थी शब्दावली चर्चाको चुलीमा छ । सडकदेखि सदनसम्म मूलधारका सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म, चिया पसलदेखि राजनीतिक दलका कार्यालयसम्म, चर्चा कहाँ छ भन्दा पनि कहाँ छैन भन्ने अवस्था छ ।

तर, यसपटकको चर्चामा भुटानी शरणार्थी शब्दावलीको छवि आफैँमा सकारात्मक छैन, नकारात्मक छ । यद्यपि, यसले नेपालमा जे–जस्तो तरंग ल्याएको छ, त्यसको परिणाम भने सकारात्मक होला कि भन्ने आशाको दियो जलेको छ ।

नेपालमा भुटानी शरणार्थी चर्चामा रहेको बेला धेरैजसो भुटानी शरणार्थी भने अमेरिकालगायतका विश्वका विकसित मुलुकमा पुनःस्थापित भएर तरक्की गरिरहेका छन् ।

तिनैमध्ये अमेरिकामा पुनःस्थापित भएका केहीले यतिबेलै नेपालको सरकारी टेलिभिजन च्यानल नेपाल टेलिभिजनमै करोडौं पुरस्कार राशि रहेको मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स नामका रियालिटी शो सञ्चालन गरिरहेका छन् ।

नाममा कतै नेपाली नभएका यी कार्यक्रमको आयोजक नेपालमा कतै दर्ता नभएको पूर्वभुटानी शरणार्थीको एक संस्था इन्ट्रा फाउन्डेसन हो । सत्ताका बिचौलियाहरूको साथ लागेर यस संस्थाका अगुवा चटकेहरूले केही दिन पहिले प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेपछि कार्यक्रम नेपाल टेलिभिजनमा प्रसारण हुन थालेको छ ।

९० को दशकमा नेपालीभाषी भएकै कारण भुटानी डुक्पाले लखेटेका हजारौं भुटानी शरणार्थीमध्ये लगभग सात हजार जति अझै पनि पूर्वी नेपालका शरणार्थी शिविरका छाप्रामा भेटिन्छन् । कोही भुटान नै फर्कने भनेर बसेका छन् । कोही नेपालले नागरिकता दिए दिइहाल्यो । दिएन भने बाँकी जीवन शरणार्थी शिविरमै बिताउने भनेर बसिरहेका छन् ।

कोही पुनःस्थापनाका बेला फौजदारी मुद्दाका कारण अयोग्य भएर छोडिएका छन् । कोही अमेरिकालगायतका विकसित देशमा पुनःस्थापित हुने लोभमा पछि आएर बसेका नक्कली शरणार्थी छन् । जो जे जसरी भएपनि त्यहाँ बसेका शरणार्थीहरू कष्टप्रद जीवन बाँचिरहेका छन् । उनीहरूमध्ये, अधिकांश कुनै दिन विकसित देशमा जान पाइएला भनेर नै शिविरका थोत्रा छाप्रा रूङिरहेका हुन् ।

राष्ट्रसंघीय शरणार्थी आयोगले सञ्चालनमा ल्याएको भुटानी शरणार्थी व्यवस्थापन कार्यालय बन्द गरेर उनीहरूको तेस्रो मुलुक पुनर्बासको च्याप्टर नै बन्द गरिदियो । यो अवस्थाबाट उनीहरूलाई कसरी मुक्त गर्ने उपायको खोजी गरिदिन शरणार्थी नेता टेकनाथ रिजालले तत्कालीन सरकारलाई आग्रह गरेपछि तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बनाइदिए बालकृष्ण पन्थी आयोग ।

त्यही आयोग बनेपछि सुरु भयो, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने यो गोरखधन्दा । यद्यपि, अमेरिकाले भुटानी शरणार्थी पुनःस्थापना कार्यक्रम बन्द गरिसकेको स्थितिमा आयोग बनाएर त्यसबाट सिफारिस नै गरेको अवस्थामा पनि भुटानी शरणार्थीको नाममा अमेरिका पठाउन सकिने अवस्था थिएन ।

यो यथार्थका बाबजुद पनि यही आयोगलाई माध्यम बनाएर नेपालमा सङ्गठित अपराधको नयाँ च्याप्टर खुल्यो । खासगरी राजनीतिक दलका नेताका आसेपासे बिचौलिया भएर सुरु गरेको यो गोरखधन्दाले गृहमन्त्रालयमै डेरा जमायो ।

जो मन्त्री बनेर आए पनि, जो सचिव बनेर आएपनि उनीहरू त्यो धन्दाका अंसियार बने । बनाउने एउटै कुरा थियो पैसा । यो गोरखधन्दामार्फत अकूत पैसा उठाउनेले तलदेखि माथिसम्मै सेटिङ गरेर हरेकलाई पैसाको बिटोले मुखमा बुचो लगाइदिए ।

गिरोहले पन्थी आयोगको प्रतिवेदनमा नाम संलग्न गराउने र त्यहाँ समावेश भएको नाम भुटानी शरणार्थी भएर अमेरिका जाने भन्ने सपना बेच्यो । यही नाममा उसले दुई थरिको पैसा उठायो । पहिलो थरि, उसले भुटानी शरणार्थी र उनीहरूको नातेदारबाटै पैसा उठायो । तीमध्ये कोही वास्तविक शरणार्थी थिए र उनीहरूको नाम स्वतः समावेश हुन्थ्यो भने कोही उनीहरूका भुटान र भारतमा रहेका आफन्त थिए ।

उनीहरूको नाम आयोगको सिफारिसमा पर्यो भने अमेरिका जान पाइने भन्दै शिविर र आसपासमा रहेका गिरोहका सदस्यले भ्रम बाँडे । त्यही क्रममा शिविरमा रहेका शरणार्थीले अमेरिकालगायत विभिन्न मुलुकमा पुनर्बास भइसकेका आफन्तसँग पैसा मागेर गिरोहका सदस्यलाई करोडौं बुझाए ।

तर, अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा यो पाटोको कुरै उठेको छैन । मात्र दोस्रो थरिको कुरा उठाइएको छ जसमा अमेरिका जान चाहने नेपालीले आफूलाई भुटानी शरणार्थीको सूचीमा नाम समावेश गराउन गिरोहका सदस्यलाई करोडौं बुझाए ।

यसरी बुझाउनेमा हजारौँको संख्यामा मेचीदेखि महाकालीसम्मकै नेपाली छन् । तर, जतिले बुझाएका छन् ती सबैले आफ्नो नाम सार्वजनिक गरेका छैनन् । कतिले पैसा बुझाएको भन्दा आफू पनि नक्कली भुटानी शरणार्थी बन्न लागेको अभियोगमा सजायको भागिदार हुने भयले आफ्नो नाम सार्वजनिक गरेका छैनन्, कति सार्वजनिक हुँदा सामाजिक प्रतिष्ठामा आँच आउने चिन्ताले पनि चुप रहेका छन् ।

अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको पूर्वकथा यही हो । अहिले त्यही कथाको अर्को शृङ्खलामा त्यही गोरखधन्धाको पटाक्षेप भएको हो । नेपालको ठूला मिडियाले निरन्तर फलोअप गरेपछि ठूलै रेक्टरको भूकम्प ल्याउन सक्षम यो प्रकरणले नेपालको सत्ता राजनीतिलाई नराम्ररी हल्लाइदिएको छ ।

यो प्रकरणमा नेपालको सत्ता राजनीतिका तीन ठूला दल एमाले, कांग्रेस र माओवादी कुनै न कुनै रूपमा संलग्न छन् । एमाले र कांग्रेसको संलग्नता त सार्वजनिक छ । माओवादीको संलग्नता पनि अप्रत्यक्ष रूपमा छ । यो काण्डको बीउ रोप्ने तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझी माओवादीकै उपल्लो तहका नेता थिए ।

अझ बादल त त्यतिबेला माओवादीको नेतृत्व गर्दै सरकारमा सहभागी थिए । एमाले र माओवादी एकता भएर बनेको नेकपा सर्वोच्च अदालतले खारेज गरिदिएपछि बादल र रायमाझी ओलीतिरै लागे । ओलीकै कृपाले यतिबेला बादल एमाले उपाध्यक्ष र रायमाझी सचिव छन्, यो बेग्लै कुरा हो ।

यो काण्डको लहरो तान्दै जाँदा पहरो नै गर्जने स्थिति छ । अहिले नै तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण र उनकी पत्नी एवं सांसद मञ्जु खाण, कांग्रेस सभापति देउवापत्नी तथा सांसद डा. आरजु राणासम्मको नाम जोडिएका अडियो सार्वजनिक भइसकेका छन् । शीर्ष कर्मचारीतर्फ एक पूर्वगृहसचिव त प्रहरी हिरासतमै पुगिसके, अरू दुईजनाको नाम सार्वजनिक भइसकेको छ ।

यो काण्डले नेपालको गृहप्रशासन कुशासनको केन्द्र रहेको ऐना देखाएको छ । मन्त्रीका सल्लाहकार र स्वकीय सचिवको अनुहार घिनलाग्दा बिचौलियाका रूपमा नांगिएको छ । पैसाको बिटोले नेपालको गृहप्रशासन वर्षौँसम्म किन्न सकिन्छ भन्ने अजीवको नजीर बसेको छ । किन सरकारमा हुने मुख्य दल र ठूला नेतालाई गृहमन्त्रालय नै चाहिने रहेछ भन्ने कुराको पनि पटाक्षेप भएको छ ।

अर्थात्, यसपटक नेपालको वर्तमान सत्ता र पद्धति नराम्ररी नांगिएको छ । नेपाली जनताको चेतनाको स्तर उकासिएको र जनतामा वर्तमान राजनीतिक दल र नेताप्रति तीव्र असन्तुष्टि प्रकट भइरहेको यतिबेला सार्वजनिक भएको यो काण्ड अब कसैले चाहेर पनि कुनै तात्विक निस्कर्षमा नपुर्याइ सजिलै पन्छाउन सकिने वा साम्य बनाउन सकिने अवस्था छैन ।

अहिलेको सरकार, गृह प्रशासन र प्रहरी संयन्त्रका लागि यो काण्ड अवसर र चुनौती दुवै बनेर आएको छ । यदि कोहीबाट पनि प्रभावित नभई यो काण्डमा दूधको दूध पानीको पानी छुट्याउन सकियो भने प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवर त व्यक्तिगतरूपमा पनि धन्यवादका पात्र हुन्छन् नै, विश्वास गुमाउँदै गएका पुराना राजनीतिक नेता र दलले पनि विश्वास जगाउने कोरामिन प्राप्त गर्नेछन् ।

तर, त्यसो भएन र दल तथा तिनीहरूका नेतालाई जोगाउनतिर लागियो भने प्रचण्ड, श्रेष्ठ र कुँवरका लागि त यो कहिलै नतरिने वैतरणी त बन्छ नै, अहिलेको राजनीतिक पद्धति र पुराना दलका लागि कात्रो किन्नुपर्ने परिस्थितिको शंखनाद पनि हुनसक्छ । यसै पनि यो घण्टी बजिरहेको बेला हो ।

परिस्थिति पेचिलो बन्दै गएपनि यो काण्डको वरिपरि भइरहेका गतिविधिलाई हेर्दा यसलाई तात्त्विक निष्कर्षमा पुग्ला नदिइएला कि भन्ने संशय भने उत्पन्न भएकै छ । खासगरी प्रतिपक्षी एमालेतिर चोरऔँला ठडिएको यो काण्ड ओलीका लागि जीवनमरणको प्रश्न बनेको छ । ओली प्रधानमन्त्री भएको बेला सुरु भएको यो काण्डमा नैतिकरूपमा उनी आफैँ तानिएका छन् ।

पार्टीका उपाध्यक्ष बादल र सचिव रायमाझी नै यसमा प्रत्यक्षरूपमा मुछिएका छन् । अर्की एमाले सांसद तथा बादलपत्नी नैनकला थापा पनि तानिएका छन् । ओलीका स्वकीय सचिव राजेश बज्राचार्य पनि पुछिसकेका छन् । यसरी एकपछि अर्को गरेर आफ्ना सबै तानिसकेपछि ओलीको बेचैनी ह्वात्तै बढेको छ र उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारतिर तारन्तार धाउन थालेका छन् ।

यसैबीच संसद्को वर्षे अधिवेशन पनि सुरू भएको छ । अधिवेशनको पहिलो दिन नै यो काण्ड सदनमा प्रवेश भएको छ । विभिन्न राजनीतिक दलका सांसदहरू एकले अर्कालाई नंग्याएर भ्रष्टाचारी देखाउन लागिपरेका छन् । यो नंग्याउने प्रतिस्पर्धामा कसैको पनि शरीरमा लुगा नहुने स्थिति सिर्जना हुने छाँट देखिँदैछ । सदनमा सुरू भएको यो दोहोरीले पनि यो प्रकरणलाई इन्धन भर्ने काम गरिरहेको छ ।

यो काण्ड बहुआयामिक छ । यसका केही आयाम खासगरी गृहप्रशासनको कुशासन, संस्थागत बिचौलियापन, उच्च राजनीतिक नेतृत्वसम्मै झ्याँकिएको भ्रष्टाचारको सेटिङ, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको गोरखधन्दाजस्ता आयाम सार्वजनिक भए । तर, यसका अरू केही आयाम भने अझै सतहमा आउन सकेका
छैनन् ।

यसरी सार्वजनिक रूपमा उजागर हुन नसकेको आयामको पहिलो पाटो हो, यो काण्डमा भुटानी शरणार्थी शिविरमा बाँकी रहेका शरणार्थीलाई अमेरिका पठाउन आयोगको प्रतिवेदनमा नाम समेट्ने नाममा उनीहरूबाट उठाइएको करोडौं
रकम । यदि शिविरमा गएर त्यहाँका मानिसलाई सोध्ने हो भने उनीहरूबाट यो गोरखधन्दाका अरू पाटा पनि सार्वनिक हुनेछन् ।

यो काण्डको दोस्रो पक्ष हो, नक्कली भुटानी शरणार्थी बन्न पैसा दिने नेपाली नागरिकहरू । उनीहरूलाई पीडित भनेर आँखा चिम्लनु हुँदैन । यसरी घुस दिने पक्षलाई पीडित भनेर उनमुक्ति दिने र घुस लिने पक्षलाई पीडक भनेर जवाफदेही बनाइरहने अभ्यासले पनि नेपालमा मानव तस्करीका यस्ता घटनाले प्रश्रय पाइरहेका हुन् । राज्य यस्ता घटनामा अनावश्यकरूपमा घस्रिरहनुपरेको छ ।

त्यसैले अमेरिका जाने नाममा नक्कली भुटानी शरणार्थी बन्न तयार नेपालीमाथि पनि निर्ममतापूर्वक कारबाही हुनुपर्छ । उनीहरूमाथि कारबाही गरिँदा एकपटकका लागि अलि अनौठो लागे पनि यसबाट बन्ने नजीरले भविष्यमा यस्तो संगठित मानव तस्करी हतोत्साहित हुनसक्छ ।

यो काण्डको तेस्रो पक्ष विदेशमा पुनःस्थापित वा नेपालकै शरणार्थी शिविरिमा रहेका क्याम्प सेक्रेटरीलगायतका अगुवा भुटानी शरणार्थी पनि हुन् । शिविरका थोत्रा छाप्रा रूङिरहेका हजारौं भुटानी शरणार्थी यसरी ठगिइरहँदा पनि उनीहरू मौन रहनुले यो काण्डलाई अरू रहस्मय बनाएको छ । कतै उनीहरू पनि यो गिरोहमा संलग्न त थिएनन् ?, प्रश्न उठाउन सकिन्छ । यस कोणबाट पनि परिघटनालाई हेर्न जरूरी छ ।

यो काण्डको चौथो पक्ष भनेको अमेरिका स्वयं पनि यसमा एक किसिमले नकारात्मक रूपमा तानिएको छ । यो काण्डको गाइँगुइँ बाहिरिएपछि अमेरिकाले बेलैमा यो प्रकरणमा आफ्नो प्रष्टीकरण दिनुपथ्र्यो ।

उसले भुटानी शरणार्थीलाई अमेरिका पुनर्बास गराउने कुनै कार्यक्रम नरहेको भन्ने जानकारी दिएको भए यो गोरखधन्दा यति अगाडि बढ्ने थिएन । जे भए पनि अमेरिकामा मानव तस्करी गर्ने सोचले बढेको यो गोरखधन्दाका बारेमा केही चाल नपाउनु वा चाल पाएर पनि यस्तो जघन्य अपराधको मूकदर्शक हुनु अमेरिकाका लागि सुहाउने कुरा थिएन र हैन पनि ।

समग्रमा यो काण्ड सुशासनको कोणबाट हेर्दा नेपालको निधारमा लागेको एक किसिमको कलंकको टीका नै हो । यो टीका मेट्न सहज छैन तर यसमा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गरेर तात्त्विक निस्कर्षमा पु¥याउन सकियो भने त्यो कलंकको टीका पखाल्न भने सहयोग पुग्नेछ । अहिलेका लागि यही नै होस् भन्ने कामना गरौं । बाँकी त समयको ऐनामा हेर्दै जाउँला । ढिलो–चाँडो सबैलाई समयले ऐना देखाउने नै छ ।

दृष्टिबाट