फुटबल स्टार लियोनल मेस्सीले साउदी अरबको क्लबबाट फुटबल खेल्ने

२६ वैशाख, काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आउँदो सिजनमा साउदी अरबको क्लबबाट फुटबल खेल्ने दाबी अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले गरेको छ ।

यससम्बन्धी सम्झौता लगभग टुंगिसकेको र केही ससाना विषय बाँकी रहेको श्रोतलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

मेस्सी ठूलो रकममा साउदी अरब जान लागेको भने पनि रकम भने खुलाइएको छैन । विश्वकै उत्कृष्ट फुटबलर मेस्सीले अल हिलालसँग ५२२ मिलियन पाउण्ड बराबरको सम्झौता पक्का गरेको बेलायती अनलाइन डेलीमेलले दाबी गरेको छ ।

उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले भने यसबारेमा केही बताएको छैन । पीएसजीले मेस्सीको सम्झौता जुन ३० सम्म रहेको बताएको छ ।

फ्रान्स र बेलायतका केही सञ्चार माध्यमले भने मेस्सी केही दिनअघि अल हिलालसँग सम्झौता गर्न साउदी अरब गएको दाबीसहितको समाचार सार्वजनिक गरेका छन् ।

मेस्सीका अर्का प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डो साउदी अरबको अल नासेरबाट खेल्छन् । मेसीलाई आवद्ध गरेको भनिएको अल हिलाल अल नासेरको प्रतिद्वन्द्वी हो ।

गत साता साउदी भ्रमणमा गएको भन्दै पीएसजीले मेसीलाई दुई साताको लागि निलम्बन गरेको थियो । तर मेसी सोमबार बिहान प्रशिक्षणमा उपस्थित भएको पीएसजीले जनाएको थियो ।