Breaking News

प्रतिनिधि सभामा दर्ता गरेको कुनैपनि विधेयकमाथि अब आम सर्वसाधारण नागरिकले पनि सुझाव दिन सक्ने

सरकारले प्रतिनिधि सभामा दर्ता गरेको कुनैपनि विधेयकमाथि अब आम सर्वसाधारण नागरिकले पनि सुझाव दिन सक्ने भएका छन् । संघीय संसद् सचिवालयले शुक्रबारदेखि यो व्यवस्थाको सुरुवात गरेको हो ।

संघीय संसद् सचिवालयको वेवसाइटमा गएर दर्ता भएको विधेयक पढ्न सकिने र त्यही रहेको फर्म भरेर बढीमा २५० शब्दमा सुझाव दिन सकिने व्यवस्था गरिएको छ ।
संघीय संसद्का सचिव डा.रोजनाथ पाण्डेले एक महिनाअघि निर्णय गरेर शुक्रबारबाट विधेयकमाथि सुझाव माग्न थालिएको जानकारी दिए ।
संसदमा दर्ता भएका ३ विधेयकहरू बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ माथि ७ दिनसम्म सुझाव दिन सकिने व्यवस्था गरिएको छ ।
सचिवालयका सचिव डा. पाण्डेले रातोपाटीसँग भने,‘अव संघीय संसद् सचिवालयको वेवसाइटमा विधेयक दर्ता भएकै दिन वेवसाइटमा

राख्छौँ ।  निश्चित समय दिएर सर्वसाधारण जनताको त्यसमाथि राय प्रतिक्रिया प्राप्त गर्नेगरी सुझाव संकलनका लागि फर्म राखेका छौँ । त्यो सुझावसँगै उहाँहरुले त्यसबारेमा केही डकुमेन्ट छ भने त्यसलाई पनि अपलोड गर्ने ठाउँ राखेका छौँ । अधिकतम २५० शब्दसम्म उहाँहरुले विधेयकमाथि आफ्नो सुझाव राख्न सक्नुहुन्छ ।’

यसरी सर्वसाधारणबाट आएको सुझावहरुलाई एकमुष्ठ रुपमा संकलन गर्ने र त्यसलाई प्रमाणित गरेर संवन्धित तह वा निकायमा जनताको सुझाव यस्तो आएको छ भनेर सन्र्दभ सामग्रीको रुपमा उपलब्ध गराइने उनले बताए । संसदीय समितिमा हुने छलफल वा संसदको सभामा हुने छलफलका क्रममा पनि सांसदहरुलाई अध्ययनका लागि जनताको सुझावको डकुमेन्ट दिइने सचिव पाण्डेले जानकारी दिए ।

झन्डै एक महिनाअघि संसद् सचिवालयले यसबारे निर्णय गरेपछि वेवसाईट–सफ्टवेर बनाउने काम गरेको उनले बताए । आजदेखि सर्वसाधरणका लागि सुझाव दिन वेवसाइटबाट खुला गर्ने निर्णय भएको उनको भनाई छ ।

संसदमा प्रक्रियामा रहेका ३ वटा बिधेयकमाथि संसद् सचिवालयले वेवसाइट मार्फत सुझाव मागेको छ । प्रत्येक विधेयकमाथि अव नागरिकले आफ्नो मत राख्न पाउने भएका छन् ।