१९ चैत, काठमाडौं । अर्थ मन्त्रालयको जिम्मेवारी अर्थतन्त्रका जानकार समेत रहेका कांग्रेस नेता डा. महतले पाएपछिको पहिलो कारोबार दिन नै सेयर बजार परिसूचक नेप्सेमा १.०५ प्रतिशतको गिरावट भएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा २० अंकको गिरावट हुँदा १८८८.५५ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा नेप्से दोहोरो अंकले घटेको छ । व्यापार उपसूचक सर्वाधिक २.५८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.६३ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक १.०८ प्रतिशतले गिरावट भएको हो ।
आइतबार नेप्सेमा कारोबार भएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ५ करोड ६ लाखको सेयर कारोबार हुँदा शिवम् समेन्टको ४ करोड ५१ लाख र रिडी पावर कम्पनीको ३ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।