संसारभरि ‘टाइप टु’ डायबेटिजले महामारीको रूप लिँदै छ। नेपालमा पनि यो घर-घरको व्यथा भइसकेको छ।
चार प्रकारका डायबेटिजमध्ये दोस्रो प्रकारको डायबेटिज महामारी बन्ने खतरा छ। पहिला शारीरिक व्यायाम धेरै हुन्थ्यो। मानिसहरू कडा परिश्रम गर्थे। अहिले श्रम गर्ने चलन कम हुँदै गएको छ, तर खाना भने घटेको छैन।
हलो जोत्ने, हिँड्ने, बारीमा कुटो कोदालो गर्दा अन्न टन्न खाए पनि असर गरेको थिएन। खानाले शक्ति दिन्छ। हिजोआज खाना धेरै अनि शक्ति खर्च कम हुन थालेको छ। त्यसले गर्दा शरीरमा धेरै बोसो जम्मा हुन थालेको छ। खानपिन र व्यायाममा सन्तुलन नभएर डायबेटिजका बिरामी बढिरहेका छन्।
पहिला जंगलमा शिकार गरेर खान चलन थियो। त्यो बेलामा कति दिनसम्म भोकै बस्नुपर्थ्यो। तर अहिले भोकै बस्ने चलन हराएको छ। पहिला त तीन पटक खाने चलन थियो तर अहिले जतिबेला पनि खाने चलन छ। तनावग्रस्त जीवनशैली अनि खानाको कारणले समस्या भएको छ। अहिले व्यायाममा केही चेतना आएको छ, तर खाने कुरामा अझै सचेतना आएका छैनन्।
खेतबाट सिधै ल्याएर अलि सफा गरेर मात्रै खाने चलन थियो। तर अहिले मेसिनमा लगेर केमिकलसमेत राखेर खाने परिपाटी बढेको छ। जसले गर्दा बोसो झन् धेरै बढ्ने गरेको छ। खाना खाइरहेको छ, पचिरहेको छ, भण्डार भइरहेको छ तर खर्च भएको छैन।
उपवास बस्दा भण्डार केही घट्छ जसले गर्दा शरीरलाई फाइदा हुन्छ। भोक लागेपछि मात्रै खानुपर्छ। भोकै लागेको छैन तर मेरो समय आयो भनेर खाने होइन। समय आएपछि भन्दा पनि भोक आएपछि खानुपर्छ। यसले शरीरमा बोसो बढ्न दिँदैन भने मोटोपना समेत हुँदैन। माछा, मासु, अन्डा अनि घिउ तेलबाट पेट लाग्ने होइन, अन्नबाट लाग्ने हो। अन्न बढी भयो भने पेट लाग्ने हो। धेरै भात खायो भने पेट लाग्छ।
बोसो लागेको अन्नका कारण हो त्यसैले अन्न कम गर्नुपर्यो। अन्न धेरै खान मन छ भने शारीरिक परिश्रम धेरै गर्नुपर्छ। काम गर्नेले टन्न खान सक्छ।
हामी नेपालीको समस्या भनेकै अन्न धेरै खानु हो। हामीले चाहिनेजति प्रोटिन खाँदैनौं। त्यसैले तरकारीबाट शक्ति लिनुपर्छ, भातबाट होइन। नेपालीहरू खाना खाँदा अनुशासनमा रहँदैनन्। खाना र व्यायामको सन्तुलन नमिल्दा समस्या परेको छ। नयाँ प्रविधि अपनाउने अनि खाना खाने र काम गर्ने शैली पुरानो अपनाउनुपर्छ। यसले डायबेटिजबाट जोगाउन धेरै मद्दत गर्छ।