ढाड दुख्नु आफैमा रोग होइन। यो एउटा रोगको कारक हुन सक्छ। जसरी फोक्सो, कलेजोमा कुनै समस्या भयो भने ज्वरो आउने हुन्छ, त्यस्तै ढाड दुख्ने पनि एउटा लक्षण हो। के कारणले ढाड दुखेको रहेछ भनेर पत्ता लगाउन जरूरी छ।
ढाड दुख्नुका मुख्य कारण यस प्रकार छन्।
- जीवनशैली र बसाइको तरिका
- चोट लागेर
- बढ्दो उमेर
- क्यान्सर, ट्युमर फैलिएर
- ढाड बांगिएर
- बाथ
ढाड दुख्नुको ८० देखि ९० प्रतिशत कारण जीवनशैली र बसाइसँग सम्बन्धित हुन्छ। काम गर्ने तरिका कस्तो छ भन्नेले पनि निर्धारण गर्छ। लामो समयसम्म बसिरहने, उभिएर, निहुरिएर काम गर्ने, घरको, सरसफाइको काम धेरै गर्ने, मोटरसाइकल धेरै चलाउनेहरूलाई ढाड दुख्ने समस्या हुन सक्छ। यस्तो दुखाइलाई ‘पोस्चर’ का कारण ढाड दुखेको भनिन्छ। यो साधारण फिजियोथेरापी र औषधिले कम भएर जान्छ।
कहिलेकाहीँ भने स्पाइनल इन्जुरी, ट्युमर, बांगिने, नशा च्यापिएको लगायत कारणले ढाड दुखेको हुन सक्छ। त्यसैले स्पाइन सर्जनलाई देखाउनुपर्छ। आवश्यक्ता अनुसार सिटी स्क्यान, एक्सरे, एमआरआई लगायत गरेपछि ढाड दुख्नुको कारण पत्ता लगाउन सकिन्छ।
ढाड दुखेको छ र त्यो खुट्टातिर फैलिएको छ भने तत्कालै डाक्टरलाई देखाउनुपर्छ। घरमै आराम गरेर बस्छु भनेर हुँदैन। ढाडको दुखाइ दुवै या एउटा खुट्टामा जान सक्छ। दुखाइ खुट्टामा गएर झमझमाउँछ, हिँड्दा खुट्टा भारी हुन्छ, हिँड्न सकिँदैन भने मेरूदण्डको नशा च्यापिएको हुन सक्छ।
ढाड दुख्नबाट कसरी जोगिने ?
- धूमपान गर्न हुँदैन।
- उचित व्यायाम र पोषणयुक्त खाना खानुपर्छ।
- भिटामिन, खनिज र फलफूल धेरै खानुपर्छ।
- पानी प्रशस्त पिउनुपर्छ।
- बस्ने, उभिने, निहुरिने लगायत काममा विधि पुर्याउनुपर्छ।
मैले कतिपयको सानै उमेरमा पनि ढाड दुखेको देखेको छु। दस/बाह्र वर्षकै उमेरमा ढाड दुख्नु भनेको बाहिरी गतिविधि/क्रियाकलाप कम हुनु हो। युवाहरूमा पनि उत्तिकै समस्या देखिन थालेको छ।
बच्चाहरूलाई जति बेला पनि पढाइ, पढाइ भन्दा यस्तो भएको हो। कतिपय बच्चालाई आर्थराइटिस र ट्युमरले गर्दा अनि बांगिने समस्याले पनि ढाड दुखेको हुन सक्छ। तर यो भनेको ५ प्रतिशत मात्र कारण हो। ९५ प्रतिशत कारण बाहिरी गतिविधि/क्रियाकलाप नभएरै हो।
ढाड दुख्यो भन्नासाथ आफूखुसी औषधि खाने चलन छ। यस्तो कहिल्यै गर्न हुँदैन। किनकि कस्तो औषधि खाने भनेर आफूलाई थाहा हुँदैन। दुखाइ कम गर्ने औषधि जथाभाबी खायो भने मुख, खुट्टा सुन्निने, मिर्गौला बिग्रिने लगायत समस्या देखिन्छन्। एक/दुई दिनमा पनि ढाड दुखेको ठीक भएन भने डाक्टरको सल्लाहमा औषधि खाने या थेरापी गर्ने भनेर निर्णय गर्नुपर्छ।
ढाडमा चोट लागेको छ भने मालिस गर्न हुँदैन। यसले दुखाइ अझै बढाउँछ। डाक्टरलाई देखाएर नै थेरापी र मालिस गर्नुपर्छ। आफ्नै बुझाइको भरमा उपचार गर्न हुँदैन।
(ओम अस्पताल र मनमोहन मेमोरियल मेडिकल कलेजमा कार्यरत मेरूदण्ड रोग विशेषज्ञ (स्पाइन सर्जन) प्रा.डा गौरवराज ढकालसँग सेतोपाटीका सन्जिब बगालेले गरेको कुराकानीमा आधारित।)
सेतोपाटीबाट