एकको बदला तीन जना सांसद लिएर संसद छिर्ने

सभापति रवि लामिछाने

काठमाडौँ । बैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । यसको तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टीले घनिभूत छलफल गरीरहेको छ । सभापति रवि लामिछानेले पार्टीको एक कार्यक्रममा एकको बदला तीन जना सांसद लिएर संसद छिर्ने सपना रहेको बताएका छन् । वैशाख १० गते ३ क्षेत्रमा उपनिर्वाचन हुन लागेको सन्दर्भमा लामिछानेले यस्तो बताएका हुन् । नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि लामिछानेले चितवन २ बाट निर्वाचित भएपनि पद गुमाएका थिए ।

सोही क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा लामिछाने चुनाव लड्दैछन् । ती दुबै क्षेत्रमा पनि आफ्नो पार्टी विजयी भएको हेर्ने चाहना भएको उनको भनाइ छ ।

‘मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । सो पार्टीमा अर्थविद् स्वर्णीम वाग्ले प्रवेश गर्ने चर्चा छ । तनहुँ १ बाट चुनाव लड्नेगरी उनले बिहीबार कांग्रेस छाडेको घोषणा गरेका थिए ।