फुकोट कर्णाली जलविद्युत आयोजना विद्युत उत्पादन कम्पनी र भारतीय कम्पनी एनएचपिसी लिमिटेडको संयुक्त लगानीमा निर्माण गर्ने निर्णय

४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना विद्युत उत्पादन कम्पनी र भारतीय कम्पनी एनएचपिसी लिमिटेडको संयुक्त लगानीमा निर्माण गर्ने निर्णय भएको छ।

अर्ध जलाशययुक्त (पिआरओआर) उक्त आयोजनामा ५१ प्रतिशत एनएचपिसीले लगानी गर्ने र ४९ प्रतिशत विद्युत उत्पादन कम्पनीको लगानी हुने गरी कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले निर्णय गरेको हो।

कम्पनीका प्रवन्ध निर्देशक सूर्य रिजालले बोर्डले यसअघि पनि यो निर्णय गरेको बताए।

‘हाम्रो छलफल एक वर्षदेखि चलिरहेको छ। योभन्दा अगाडि पनि बोर्डले यो निर्णय पास गरेको थियो। हामीले निर्णय गरेर मात्रै हुँदैन। मन्त्रीपरिषदबाटै स्वीकृत हुनुपर्छ,’ उनले सेतोपाटीसँग भने।

रिजालका अनुसार यो निर्णय मन्त्रिपरिषदले स्वीकृति दिएपछि मात्रै कार्यान्वयनमा जान्छ।

‘आज र भोलिमा हामी यो निर्णयलाई ऊर्जा मन्त्रालय पठाउँछौं। मन्त्रालयले क्याबिनेटमा कहिले लैजान्छ र त्यहाँबाट कहिले स्वीकृत हुन्छ भन्ने विषयमा त हामीलाई जानकारी हुँदैन,’ उनले भने।

उनका अनुसार एनएचपिसीले गत वर्ष २०२१ को डिसेम्बरमा नै फुकोट कर्णालीमा लगानी गर्न प्रस्ताव गरेको थियो।

मन्त्रीपरिषदबाट स्वीकृत भयो भने एनएचपिसीसँग जोइन भेन्चर लगानी सम्झौता गरिनेछ।

कर्णाली नदीमा पहिचान भएको फुकोट कर्णाली आयोजनामा ९२ अर्ब तीन करोड लागत लाग्ने यसको सम्भाव्यता अध्ययनमा उल्लेख छ। निर्माण सुरू भएको पाँच वर्षभित्र सक्ने उल्लेख छ।

यहाँबाट उत्पादन भएको ४८० मेगावाट बिजुली भारतमा बिक्री गरिनेछ।

यो आयोजनाको बिजुली कर्णाली करिडोरको प्रसारणलाइनमार्फत् भारत लगिनेछ। कर्णाली करिडोरमा ४०० केभीको प्रसारण लाइन बनाउनका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले भारतीय कम्पनी कल्पतरूसँग सम्झौता गरिसकेको छ।

पछिल्लो समय नेपालका ठूला जलविद्युत आयोजनामा लगानी गर्न भारतीय कम्पनीहरू इच्छुक देखिएका छन्। केही समय अघि ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना निर्माणका लागि पनि भारतीय कम्पनी एनएचपिसीसँग सम्झौता भएको छ।

सम्झौतामा गत भदौ ४ गते लगानी बोर्डका सिइओ सुशिल भट्ट र एनएचपिसीका अध्यक्ष एके सिंहले हस्ताक्षर गरिसकेका छन्। यी आयोजनामा भारतले दुई खर्ब ८८ अर्ब लगानी गर्ने घोषणा गरेको छ।

त्यस्तै, भारतले ९०० मेगावाटको अरूण तेस्रो निर्माणको जिम्मा पनि पाएको छ। ४९० मेगावाटको अरूण ४, ६७९ मेगावाटको तल्लो अरूण पनि भारतीय कम्पनीले नै जिम्मा पाएको छ।

सेतोपाटीबाट