Breaking News

मलाई एमालेमा नबस र घचेट्या घचेट्यै गरे नयाँ पाइला चाल्न सक्छु

१४ चैत, कैलाली । नेकपा एमालेका नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताएका छन् । तर एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने उनले बताए । त्यो अन्तिम बिन्दु कुन हुनेछ भनेर अहिले भन्न नसक्ने उनले बताए ।

आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला नेकपा एमालेका इमान्दार कार्यकर्ता, जनतासँग सोध्नेछु– अब म यही घचेट्याइ मात्र मानिराखुँ कि नघचेट भनेर जिउ चलाउँ भनेर सोध्नेछु र त्यतिबेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’

अछाममा सोमबार आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले भीम रावलले एकीकृत समाजवादीका विभिन्न नेताहरुसँग भेटेको र पार्टीमा असहयोग गरेको भनेर लगाएको आरोपबारे पनि उनले पत्रकार सम्मेलनमार्फत् जवाफ दिएका छन् ।

पत्रकार सम्मेलनमा रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई र माधव नेपाललाई भेट्न हुने तर आफूले अरु पार्टीकालाई भेट्न नपाउने भन्ने नहुने बताए । उनले भने, ‘केपी शर्मा ओली र विष्णुप्रसाद पौडेल स्वयंले कोटेश्वरमा गएर माधव नेपाल जीसँग वार्ता गर्नुभाछ । अरु साथीहरुले पनि गर्नुभाछ । पार्टी अलग बनाएर गइसक्नु भएका माधव नेपाललाई राष्ट्रपति बनिदिनुस्, पार्टी मिलाऔं भन्दा पनि मिल्ने, प्रचण्डलाई प्रधानमन्त्री बनाउन पनि मिल्ने अनि मैले यहाँ कोही मान्छेसँग भेटेपछि भीम रावल त समाजवादी भइसक्यो भन्ने रु राजनीतिमा यस्तो पनि हुँदोरहेछ हाम्रो देशमा ।’

नेता भीम रावल