गर्भनर हटाउने ६३ करोड धन्दाको पर्दाफास

काठमाडौं । नेपालमा राजनीतिक संरक्षणमा कुन तहको संगठित अपराध मौलाइरहेको छ भन्ने तथ्य नेपाल प्रहरीले गरेको हालैको एक अनुसन्धानले प्रष्ट पारेको छ ।

उच्च तहको राजनीतिक संरक्षणमा करिब ३८ करोड रुपैयाँ विदेशीलाई ठगेर नेपाल ल्याइएको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को अनुसन्धानले देखाएको छ ।

अछामका पृथ्वीबहादुर शाह नेतृत्वको गिरोहले अमेरिकी तथा क्यानेडियन नागरिकलाई ठगी गरी ल्याएको रकम राजनीतिक संरक्षणमा बैंकिङ माध्यमबाट नै स्वदेश ल्याउँदै आएको थिए । यस्तो धन्दामा उनलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माकै साथ थियो ।

अर्थमन्त्री शर्माले नै उनको अवैध रकम भित्र्याउन सघाउँदै आएका थिए । जसमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी बाधक बनेपछि उनलाई निलम्बन गर्नेसम्मको काम भएको थियो ।

जसलाई सर्वाेच्च अदालतले पछि उल्टाइदियो । पछि प्रहरीले अनुसन्धान गर्दा सो रकम ठगीको भएको पुष्टि भयो । दुई महिनाअघि सीआइबीले शाह र उनका अन्य ६ सहयोगीलाई पक्राउ गरेकोमा यही साता मुद्दा प्रक्रिया अघि बढाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका व्यक्तिविरुद्ध ४ वटा मुद्दा चलाउन राय दिएको छ । सोहीअनुसार सरकारी वकिल कार्यालयले मुद्दा चलाउने तयारी गरेको छ ।

सीआइबीले उनीविरुद्ध चार वटा मुद्दा चलाउन राय दिएको हो । ठगी, संगठित अपराध, लिखत कीर्ते र सहकारी ठगीको मुद्दा चलाउन सिफारिस भएको हो । शाहसहित यो मुद्दामा सात जना पक्राउ परेकोमा अन्य १३ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

अमेरिकी नागरिकलाई अनलाइनमार्फत ठगी गरी सो रकम नेपाल ल्याउँदै आएको सीआइबीले जनाएको छ । जसमा अमेरिकाबाट २४ जना पीडितले प्रहरीमा उजुरी दिएका छन् ।

शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले दुई दर्जन कम्पनी खडा गरेको सीआइबीले जनाएको छ । विदेशी लगानी भन्दै ती कम्पनीका नाममा उनले अपराधिक पैसा ल्याउँदै आएका थिए । यसरी पैसा ल्याउन अप्रत्यक्ष रुपमा सघाएकोमा केही बैंकहरुमाथि समेत नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ ।

खासगरी बृद्ध अमेरिकी नागरिकसँग सम्पर्क गर्ने एन्टी भाइरस अपडेट, अमेजनको विल भुक्तानीलगायतका विभिन्न वहानामा उनीहरुको डिभाइसमा पहुँच पुर्याएर अनलाइनमार्फत नै पैसा चोरी गर्दथे ।

यसमा अन्र्तराष्ट्रिय गिरोह नै उनले खडा गरेका थिए । उनले यसरी ल्याएको ३८ करोड बिलासितामा खर्च गरेको समेत प्रहरीले जनाएको छ । उनको बैंकमा रहेको पैसासमेत जफत गर्न लागिएको छ । यो विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छुट्टै अनुसन्धान गरिरहेको छ ।

शाहको समूहले काठमाडौं महानगरपालिका–७ मा खरिद गरेको एउटा जग्गामा लिखत मूल्य कम देखाई राजस्व र लाभ कर छलेको पनि सीआईबीले जनाएको छ । यसमा पनि छुट्टै अनुसन्धान गर्न सिफारिस भएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्दा सञ्चालक भागवत सुवेदीको कीर्ते औंठाछाप लगाएको भन्दै यसमा छुट्टै मुद्दा दर्ता हुन लागेको छ । उक्त कम्पनी नामसारी हुँदै रुक्मांगत काफ्लेबाट अनुप खड्काको नाममा सञ्चालनमा रहेको तर आर्थिक कारोबार पृथ्वीले गर्दै आएका थिए ।

उनीहरुबाट कुल ५६ जना ठगीमा परेको र तीमध्ये २४ जनाले उजुरी दिएको सिआइबीले जनाएको छ । शाहको समूहले ठगी गरी ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ नेपाल ल्याएको थियो । जसमध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुले रोक्का गरेकोमा बाँकी रकम फुकुवा गरेपछि बैंकहरु कारबाहीमा परेका हुन् ।

सीआइबीका एसएसपी दिनेश आचार्यका अनुसार शाहले अमेरिकाबाट मात्रै ४५ लाख ४६ हजार ६ सय ३९ डलर ठगी गरी नेपाल ल्याएका थिए । क्यानडाबाट तीन लाख ४० हजार क्यानेडियन डलर बेलायतबाट पाउन्ड स्ट्रलिङ २२ हजार गरी करिब ६३ करोड अवैध कारोबार गरेका थिए ।

जसमध्ये उनले राजनीतिक पहुँच प्रयोग गरी ३८ करोड ८६ लाख ६२ हजार निकाल्न सफल भएका थिए । ठगीबाट प्राप्त २४ करोड ८० लाख ३० हजार चार सय ७२ रुपैयाँ भने नेपाल राष्ट्र बैैंकले रोक्का राखेर अनुसन्धानका लागि प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको हो । सोही रकमका लागि तत्कालीन अर्थमन्त्री शर्माले दबाब दिदा बबन्डर मच्चिएको हो ।

सीआइबीका अनुसार शाहले अमेरिका, क्यानडा र बेलायतका ५६ व्यक्तिलाई ठगेका थिए । ठगिनेमध्ये २४ पीडितले सिआइबीमा जाहेरीसमेत दिएका छन् । उनीहरूले आफूहरूबाट शाहले ३८ करोड १७ लाख ९५ हजार चार सय ८० रुपैयाँ (२८ लाख ९२ हजार तीन सय ९० अमेरिकी डलर) ठगी गरेको भन्दै जाहेरी दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्जाल
प्रहरीको अनुसन्धानमा शाहले अन्तरदेशीय सञ्जला नै बनाएर यसरी विदेशी नागरिक ठग्दै नेपालमा पैसा ल्याएको देखिन्छ । गिरोहका मान्छेहरु धेरै जसो दुबई र पश्चिम बंगालमा छन् । केही अमेरिकामा समेत रहेको आँकलन गरिएको छ ।

उनीसँगै पक्राउ परेका विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्मांगत काफ्ले र रंगबहादुर साउद भने उनलाई नेपालमा पैसा लुकाउन सहयोग गर्नेहरु हुन् ।

कतिपयलाई उनीहरूले इमेल आइडीमार्फत ठगी गर्दथे । विभिन्न कम्पनीको प्रतिनिधि बनेर बिल भुक्तानी तथा सेवाका लागि भनेर झुक्याउने र उनीहरुको खातामा रकम ‘ट्रान्सफर’ गरिदिन्थे । सम्पर्कमा आएका पीडितलाई ‘मनी लाउन्डरिङ’मा फसाइदिने भन्दै २४ कतै पनि उजुरी नगर्न समेत धम्काउने गरेको खुलेको छ ।

कतिलाई रकम फिर्ता गरिदिएको नक्कली बैंक स्टेटमेन्ट बनाएर इमेल गरिदिन्थे । उक्त रकम उनीहरूले नेपाल र थाइल्यान्डमा पठाइसकिएको हुन्थ्यो । विदेशमा उनलाई सघाउने व्यक्तिहरुमाथि पनि सीआइबीले अनुसन्धान गरिरहेको छ ।

यसमा ठगीने धेरै अमेरिकी रहेको खुलेपछि सीआइबीले अनुसन्धानमा नेपालस्थित अमेरिकी दूतावासमार्फत अमेरिकाको एफबीआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन)को सहयोग लिएर यो घटनाको अनुसन्धान गरेको हो ।

एफबीआईकै सहयोगमा सीआइबीले ठगिएका २४ अमेरिकी नागरिकको जाहेरी संकलन गरेको हो । शाहविरुद्ध एक चरणमा अनुसन्धान सकिएपनि थप अनुसन्धान जारी नै रहने प्रहरीले जनाएको छ । सम्पत्ति शुद्धीकरणमार्फत हुने अनुसन्धानमा यसमा थप व्यक्तिहरु पर्न सक्ने सम्भावना छ ।

जनार्दनमाथि छानबिन होला ?
अपराधमा संलग्न व्यक्तिलाई जोगाउनेलाई पनि मतियारको रुपमा सजाय हुने कानुनी प्रावधान छ । पृथ्वीबहादुर शाह र उनको गिरोहलाई माओवादी केन्द्रका नेता तथा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संरक्षण गरेको र सघाएको पुष्टि भइसकेको छ । तर, उनीमाथि भने सीआइबीले अहिले छानबिन गर्ने आँट गरेको छै्रन ।

शाहको पैसा फुकुवा गर्न शर्माले गर्भनर अधिकारीलाई पटक पटक मौखिक दबाब दिएका थिए । मौखिक आदेश नमानेपछि मन्त्री शर्माले रकम फुकुवा गर्न लिखितरुपमै तोकआदेश नै दिएका थिए । सोही दबाब नमान्दा उनलाई निलम्बन गरिएको थियो ।

अधिकारीले त्यतिबेला सर्वाेच्च अदालतमा दायर गरेको रिटमै सो कुरा उल्लेख छ । निवेदनमा भनिएको छ, ‘प्रत्यक्षी मन्त्रीज्यूले विवादास्पद खाता फुकुवा गरिदिन म निवेदकलाई पटक पटक मौखिक रुपमा दबाब दिदा म निवेदकले यस बारेमा सर्वाेच्च अदालतमा रिट दायर भई सर्वाेच्च अदालतबाट समेत खाता खोल्ने विषयमा अन्तरिम आदेश नभएको कुरा गराउँदा गराउँदै सोलाई समेत बेवास्था गरी मिति २०७८–१२–१५ मा खाता खोल्न लिखित निर्देशन दिनु भएको र बैंकले सो निर्देशन कार्यान्वायन नगरेको कारण उहाँ मप्रति पूर्वाग्राही हुनुभएको हो ।’

यसका आधारमा पनि सो अपराधमा शर्माको नीतिगत संलग्नता प्रष्ट हुन्छ । तर, सत्तारुढ दलका प्रभावशाली नेता भएकाले प्रहरीले उनीमाथि अनुसन्धान गर्न सकेन ।

नेपालमा ठूला किमिसका धेरै अपराधमा राजनीतिक नेतृत्व जोडिने गरेको छ । तर, त्यस्ता घटनामा अनुसन्धानमा नेतृत्वतहसम्म पुग्न सक्ने गरेको छैन । प्रहरी दलहरुको खेलौना बनेका कारण पनि राजनीतिक नेतृत्व यसमा जोगिदै आएको छ भने देशको हरेक क्षेत्रमा अपराधिकरण मौलाएको छ ।

दृष्टिबाट