नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न सभामुख घिमिरे आज विहानको उनको निवास बोहराटार पुगेका थिए । भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सभामुख घिमिरेले आईपीयु सम्मेलनका कारण आफू २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्ने समेत जानकारी गराएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिने हुनाले पौडेलले सोमबार शपथग्रहण गरेपछि पद सम्हाल्नेछन् ।

सभामुख घिमिरेले आफू शुक्रबार साँझ नै अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा जान लागेको जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले भ्रमणको सफलताको शुभकामना दिँदै आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गरेको स्मरण गरे ।

सभामुखको प्रतिनिधिमण्डलमा कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनेछन्।