प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर गरिएको रिटमा २५ गते पेशी तोकियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दामा पेशी तोकिएको छ । प्रचण्डविरुद्ध दायर गरिएको रिटमा फागुन २५ गते बिहान १० बजे पेशी तोकिएको
हो ।

२०७६ सालमा खुलामञ्चमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिविरुद्ध मुद्धा दर्ता भएको हो । सो कार्यक्रममा प्रचण्डले जनयुद्धकालमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको हत्या आफूले जिम्मेवारी लिने बताएका थिए । उक्त भनाईलाई लिएर ‘प्रचण्ड’लाई फौजदारी अभियोग माग गर्दै रिट दर्ता भएको हो ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसमेत २८ जनाले संयुक्त रूपमा रिट दायर गरेका हुन् । उक्त रिट उपर पहिलो सुनुवाइ २५ गतेलाई तोकिएको छ ।