बालुवाटारमा माओवादी धारका नेताहरुको संयुक्त बैठक सुरु

२३ फागुन, काठमाडौं । पछिल्लो राजनीतिक परिघटनाले माओवादी धारका नेताहरु एक थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भरखरै यो धारका नेताहरुकोे बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत सहभागी हुने बताइएको छ ।

केही दिनअघि शहीद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा सहभागी माओवादी धारका नेताहरुले माओवादीलाई हेप्न थालिएकाले एकजुट भएर प्रतिकार गर्नुपर्ने धारणा राखेका थिए । माओवादी धारका नेताहरुबीच सकेसम्म पार्टी एकता र त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्ने पहल गर्दै आएका छन् ।