काठमाडौं । नेपालको पर्यटकीय केन्द्र ठमेल रेड लाइट एरिया बन्दै गएको छ । यहाँ नेपालीमात्र होइन विदेशी यौनकर्मीहरूको समेत भिड बढ्न थालेको छ । चिनियाँदेखि अफ्रिकी यौनकर्मीहरुले ठमेललाई अखडा बनाउन थालेका छन् ।
प्रहरीले हालै गरेको एक अनुसन्धानले युगान्डाका युवतीहरुले ठमेललाई आफ्ना अखडा बनाएर देहव्यापारमा सलग्न रहेको खुलेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले नतासा नामक युगान्डाकी यौनकर्मीलाई पक्राउ परेपछि अफ्रिकी युवतीको गिरोहबारे पत्ता लागेको हो ।
युगान्डाकै एक युवतीलाई जागिर लगाइदिने प्रलोभनमा नेपाल ल्याएर उनले वेश्यावृत्तिमा लगाएकी थिइन् । ती युवतीमाथि यातना भएपछि प्रहरीमा केस पुगेको हो । जसअनुसार उनीहरुले धेरै युवतीहरुलाई काठमाडौं ल्याएको र भारतीय ग्राहकलाई लक्षित गरी ठमेलका होटलमा देहव्यापार गराउँदै आएको खुलेको छ । उनीहरु ठमेलका रात्रीक्लबमा जाने र त्यहाँ ग्राहक खोज्ने गर्दथे ।
ठमेलका एक रात्रीकालिन व्यवसायीका अनुसार ठमेलका सबैजसो डिस्कोहरुमा विदेशी युवतीहरु ग्राहक खोज्दै पुग्ने गरेका छन् । त्यसमा चिनियाँ, रसियन, उज्वेगिस्तान लगायत देशका युवती हुने गरेका छन् । यसमा कतिपय क्लब सञ्चालकहरुको समेत मिलेमतो हुने गरेको स्रोत बताउँछ । केही वर्षअघि यस्तो गतिविधिमा संलग्न १० चिनियाँ युवतीलाई निष्काशन समेत गरिएको थियो ।
नेपालले विदेशीलाई सहजै भिसा दिने र आन्तरिक नियमन प्रणाली पनि कमजोर हुँदा अन्तर्राष्ट्रिय अपराधीका साथै यौनकर्मीले समेत नेपाललाई अखडा बनाउन थालेका हुन् । प्रहरीले पनि यस्तो धन्दामा आँखा चिम्लने गरेको छ ।