जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु घर पूर्णरुपमा क्षति

२४ माघ, काठमाडौं । जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चन्दनाथ नगरपालिका वडानम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगालागी हुँदा १४ वर्षीया छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको हो ।

राति करिव साढे १० बजेतिर भएको आगलागीबाट तीन कोठे घर पूर्णरुपमा क्षति भएको छ ।

प्रहरीका अनुसार तीन तले घरमा भण्डारीकी सासू, श्रीमतीसहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर निस्कन सफल भएको तर ती बालिका तेस्रो तलमा भएका कारण निस्कन नपाई जलेकी थिइन् ।

घरको दोस्रो तलाबाट आगलागी भएको प्रहरी जनाएको छ । ढुंगा र काठले बनेको उक्त घर टिन छाएको प्रहरीले जनाएको छ ।

घटनामा लोकबहादुर भण्डारी पनि सामान्य घाइते भएका छन् । उनको खुट्टाको केही भागमा जलेको छ ।

मृतक बालिकाको शव पोष्टमार्टमका लागि कणरली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा पुर्‍याइएको छ ।

स्थानीय देवेन्द्र आचार्यका अनुसार सुत्ने समयमा भएकाले अरु मानिसहरुलाई जानकारी ढिला भयो । पछि त्यहाँ पुग्दा करिब घर धेरै जलिसकेको अवस्था थियो ।