रवि लामिछानेले पत्रकार सम्मेलनमा मिडिया र मिडियाकर्मीप्रति दिएको अभिव्यक्तिप्रति नेपाल मिडिया सोसाइटीले ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलनमा मिडिया र मिडियाकर्मीप्रति दिएको अभिव्यक्तिप्रति नेपाल मिडिया सोसाइटीले ध्यानाकर्षण गराएको छ।

आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलनमा लामिछानेले विभिन्न मिडिया तथा पत्रकारहरूविरूद्ध अभिव्यक्ति दिएका थिए। उनले मिडिया तथा सञ्चारकर्मीहरूको नामै तोकेर अभिव्यक्ति दिएका थिए।

उक्त पत्रकार सम्मेलनमा लामिछानेले नेपाली आमसञ्चार क्षेत्रप्रति आधारहीन, पूर्वाग्रही र मनगढन्ते आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै मिडिया सोसाइटीले आपत्ति जनाएको हो। सोसाइटीले यसलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर घात भनेको छ।

सोसाइटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको परिवर्तन र जनताको हक अधिकारको स्थापना, संरक्षण र विकासका लागि अग्रिम मोर्चामा रहेर जनतालाई सूसुचित गराउने दायित्व निर्वाह गर्दै आएको नेपालको स्थापित पत्रकारिता क्षेत्रप्रति लामिछानेले दोहोरो नागरिकताका कारण पद गुमाएको पीडाको आक्रोश पोख्ने रवैयाले उनको नवोदित दलको मिडिया विरोधी रवैयालाई उदांगो पारेको छ। जनतालाई झुक्याएर उपप्रधान तथा गृहमन्त्री बनेको व्यक्तिले जनतासमक्ष माफी माग्नुको सट्टा नेपाली मिडियाले आफ्नो पद खोसेको जस्तो आरोप लगाउनुले उनको अराजनैतिक मनोदशालाई देखाएको छ।’

त्यस्तै सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरूको नामै लिएर सार्वजनिक रूपमा धम्की दिँदै विद्यमान संविधान, ऐन र कानुनलाई हातमा लिएर कथित भीडको सहारामा मिडियालाई आफैं कारबाही गर्ने चेतावनीबाट नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरू असुरक्षित हुनसक्ने स्थिति देखा परेको घटनाप्रति सम्बन्धित पक्ष र सरकारको समेत गम्भीर ध्यानाकर्षण गराउन चाहेको मिडिया सोसाइटीले बताएको छ।

‘लामिछानेको अभिव्यक्तिबाट सिर्जित हुनसक्ने कुनै अप्रिय घटनाको स्वयं लामिछाने र उनको दल जिम्मेवार हुनु पर्ने कुरा समेत स्पष्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

सोसाइटीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पक्षमा निरन्तर रूपमा संघर्ष गर्दै आएको नेपाली मिडिया जगत कुनै पनि दल वा व्यक्तिका त्यस प्रकारका धम्कीहरूबाट विचलित नहुने पनि बताएको छ।

‘आम सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित कुनै पनि सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान पर्याप्त भए पनि लामिछानेले नेपाली मिडियालाई सार्वजनिक रूपमा धम्काएर आफ्नो पद गुमेको तितो पोख्ने जुन शैली अपनाए, त्यसले उनको बचकनापन र अराजनीतिक शैलीलाई मात्र देखाएको छैन कि आपराधिक बाटोमा अघि बढ्न सक्ने खतरा पनि देखाएको छ,’ मिडिया सोसाइटीले भनेको छ।

सोसाइटीले लामिछानेलाई आफ्नो गल्ती सच्याउन, गालीगलौज फिर्ता लिन पनि आग्रह गरेको छ। त्यस्तै उनले आरोप लगाएका मिडिया र मिडियाकर्मी प्रति कुनै प्रमाण भए पुष्टि गर्न चुनौती समेत सोसाइटीले दिएको छ।

‘यदि उनीसँग आरोपित गरिएका मिडिया र मिडियाकर्मी प्रति कुनै प्रमाण भए पुष्टि गर्न समेत चुनौती दिन चाहन्छौं,’ सोसाइटीले भनेको छ।

त्यस्तै सोसाइटीले लामिछाने र उनको दललाई नेपालको प्रचलित संविधान, ऐन, कानुन र नेपालको न्यायपालिका माथि बर्बहराहट गर्ने अधिकार कहाँबाट प्राप्त गरे भनेर प्रश्न पनि गरेको छ। समयमै आफ्नो गल्ती सच्याउन र आम जनता तथा मिडियाको संवैधानिक अधिकारमाथि चुनौती दिने गल्ती नदोहोर्‍याउन समेत सोसाइटीले चेतावनी दिएको छ।