अष्ट्रेलियाका ओपनर ब्याटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

एजेन्सी

अष्ट्रेलियाका ओपनर ब्याटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

अष्ट्रेलियाको टी-ट्वान्टी टिमका पूर्वकप्तान समेत रहेका फिन्चले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्।

फिन्चकै कप्तानीमा अष्ट्रेलियाले सन् २०२१ को टी-२० विश्वकप जितेको थियो। तर घरेलु मैदानमा सन् २०२२ मा भएको क्रिकेट विश्वकपमा भने अष्ट्रेलियाले उपाधि रक्षा गर्न सकेन।

सन्यास घोषणा गर्दै फिन्चले अष्ट्रेलियाका लागि खेल्न पाउनु अविश्वसनीय सम्मान भएको बताएका छन्।

‘१२ वर्ष अष्ट्रेलियाको प्रतिनिधित्व गर्न पाउनु र सबै समयका उत्कृष्ट खेलाडी र टोलीविरुद्ध खेल्न पाउनु अविश्वसनीय सम्मानको कुरा हो,’ उनले भने।

उनले अगाडि भने- टोलीको सफलता भनेको तपाईले खेलेको खेल हो। सन् २०२१ मा पहिलो टी-२० विश्वकप जित्नु र सन् २०१५ मा घरेलु भूमिमा एकदिवसीय विश्वकप जित्नु नै दुई सम्झनाहरू हुनेछन् जुन म सबैभन्दा धेरै माया गर्छु।

ब्याटर फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे पनि घरेलु लिगहरु खेल्ने छन्।

फिन्चले गत सेप्टेम्बरमा एकदिवसीय अन्तराष्ट्रियबाट सन्यास लिएका थिए ।

फिन्चले अष्ट्रेलियाका लागि ५ टेस्ट, १४६ एकदिवसीय र १०३ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन्।

सन् २०११ मा इङ्ल्याण्डविरूद्ध डेब्यू गरेकाले फिन्च पुरुष टी-२० अन्तर्राष्ट्रियमा अष्ट्रेलियाको सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्। उनले ३१२० रन बनाएका छन्। ३४.२८ को औसत र १४२.५३ को स्ट्राइक रेटमा खेल्दै उनले दुई शतक र १९ अर्धसतक प्रहार गरेका छन्।

फिन्चले पुरूष टी-२० अन्तर्राष्ट्रियमा उच्चतम व्यक्तिगत स्कोर बनाएका छन्। उनले सन् २०१८ मा जिम्बाब्वेविरुद्ध ७६ बलमा १७२ रन बनाउँदै सर्वाधिक रनको कीर्तिमान बनाएका हुन्।

यस्तै उनी टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक छक्का प्रहार गर्ने तेस्रो खेलाडी हुन्। भारतका रोहित शर्मा (१८२) र न्युजिल्यान्डका मार्टिन गुप्टिल (१७३) ले मात्र टी-२० अन्तर्राष्ट्रियमा फिन्चको १२५ छक्काभन्दा बढी छक्का प्रहार गरेका छन्।

सन् २०१४ मा अष्ट्रेलियाको टी-२० अन्तर्राष्ट्रिय टोलीका कप्तान भएका थिए। तर दुई वर्षपछि उनलाई कप्तानबाट निलम्बन गरिएको थियो।

फिन्चले दक्षिण अफ्रिका विरूद्धको टेस्ट शृंखलामा बल टेम्परिङ गरेको भन्दै कारबाहीमा परेका थिए। त्यसपछि सफाइ पाएका उनले सन् २०१८ मा पुनः कप्तानीको जिम्मेवारीमा फर्किए।

त्यसपछि उनले सन् २०१९ को एक दिवसीय विश्वकपमा अष्ट्रेलियालाई फाइनलसम्म पुर्‍याउनुका साथै सन् २०२१ मा दुबईमा भएको टी-२० विश्वकपको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै उपाधि जिताएका थिए।

घरेलु मैदानमा भएको सन् २०२२ को पुरुष टी-२० विश्वकपमा अष्ट्रेलियाको नेतृत्व गरेका फिन्चले टोलीलाई नकआउटसम्म पुर्‍याउन सकेनन्।

उनले ५५ एकदिवसीय र ७६ टी–२० मा अष्ट्रेलियाको कप्तानी गरेका छन् ।

फिन्च विश्वभरका सबैभन्दा प्रख्यात टी-२० क्रिकेटर हुन्। उनले इन्डियन प्रिमियर लिगमा नौ फरक फ्रान्चाइजीहरूबाट खेलेका छन्। यस्तै सन् २०११ मा प्रतियोगिता सुरु भएदेखि बिग ब्यास लिगमा उनले मेलबर्न रेनेगेड्सको प्रतिनिधित्व गर्दै आएका छन्।

क्रिकेट अष्ट्रेलियाका अध्यक्ष डा लाचलान हेन्डरसनले फिन्चको असाधारण अन्तर्राष्ट्रिय करियरको लागि बधाई दिए। उनले फिन्च अष्ट्रेलियाको उत्कृष्ट सेतो बल खेलाडी मध्ये एक भएकोसमेत दाबी गरे।

‘अष्ट्रेलियालाई विश्वकप जिताउन कप्तानी गर्ने चार पुरुष खेलाडीमध्ये एकको रूपमा, आरोनले अष्ट्रेलियाको क्रिकेट इतिहासमा सधैं विशेष स्थान राख्नेछ,’ उनले भने।

यस्तै सन् २०१३ मा श्रीलंकाविरूद्ध एकदिवसीयमा डेब्यू गरेका उनले अष्ट्रेलियाका लागि १४६  खेलमा १७ सतक र ३० अर्धसतकसहित ५४०६ रन बनाएका छन्।

उनी एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाका लागि चौथो सर्वाधिक शतक प्रहार गर्ने खेलाडीसमेत हुन्।  उनीभन्दा अगाडि २९ सतक प्रहार गरेका रिकी पोन्टिङ छन्। यस्तै डेभिड वार्नर र मार्क वाले समान १७–१७ शतक बनाएका छन्।