अख्तियारमा अनलाइन उजुरी दिनेहरुको संख्या बढ्दो

२६ वैशाख,काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा अनलाइन उजुरी दिनेहरूको संख्या बढेको छ । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन बेला पनि पनि उजुरीमा कमी नआएको अदुअआ प्रवक्ता प्रदीपकुमार कोइरालाले अनलाइनखबरलाई बताए ।
‘अधिकांश उजुरी अनलाइनबाट आएका छन्’ कोइराला भन्छन्, ‘लकडाउनका कारणले होला, अनलाइन उजुरी ह्वात्तै बढेको छ । इमेल, वेभसाईट, फेसबुक, भाइबर, ट्विटर, हटलाइन र टोलफ्री नम्बरबाट अदुअआमा उजुरी गर्नेको संख्या बढेको हो ।
कूल उजुरी बढ्न सक्ने अदुअआले कञ्चनपुर, सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, हेटौडा, बर्दीवास, इटहरी र टंगालस्थित कार्यालयबाट उजुरी लिन्छ ।
गत आर्थिक वर्षमा सबै कार्यालयमा गरेर १६ हजार ९९७ उजुरी परेका थिए । जसमध्ये सबैभन्दा बढी टंगालस्थित प्रधान कार्यालयमा ९ हजार ८५५ उजुरी परे ।
आर्थिक वर्ष २०७५र०७६ मा प्रधान कार्यालयमा मासिक औसत ८२१ उजुरी परेका थिए । त्यहाँ यसपटक बैशाखको पहिलो दुई हप्तामै ५०० भन्दा बढी उजुरी परेको प्रवक्ता कोइरालाले जानकारी दिए ।
ओम्नी समूहमार्फत चीनबाट दशौं गुणा बढी मूल्यमा स्वास्थ्य सामग्री खरिद गरिएको भन्दै अदुअआमा दुईवटा उजुरी परेका छन् ।
बागमती प्रदेश सांसद तथा विवेकशील नेपाली दलका नेता रमेश पौडेल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उपप्रधानमन्त्री, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिवलगायत विरुद्ध छुट्टाछुट्टै उजुरी दिएका हुन ।
अदुअआ स्रोतका अनुसार लकडाउनका बेला परेका उजुरीहरू स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण, राहत वितरणसँग सम्बन्धित छन् । केही उजुरी काठ तस्करी, गिटी बालुवा उत्खनन्सँग सम्बन्धित छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालका अध्यक्ष खेमराज रेग्मी कोभिड(१९ महामारीका बेला भ्रष्ट मानसिकता भएकाहरूले मौकामा चौका हान्न खोजेको बताउँछन् ।
‘सबैको ध्यान कोरोनामा केन्द्रित हुन्छ, जति लुटे पनि कसैले विरोध गर्दैन भन्ने प्रवृत्तिले गर्दा भ्रष्टाचार बढेको देखिन्छ’ अध्यक्ष रेग्मी भन्छन्, ‘भ्रष्टाचार भएको नजिकबाट थाहा पाउनेले उजुरी दिएको हुन सक्छ ।