सेनाका कर्णेलले चलाएको कारको ठक्करबाट मोटरसाइकल यात्रीको मृत्यु

२६ वैशाख, काठमाण्डौ। नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज शुक्रबार बिहान ७ ः२५ बजे रविभवनमा भएको दुर्घटनामा मोरङका २३ वर्षीय युवकको मृत्यु भएको हो ।
कलङ्कीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोरङ बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको छ ।
कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा गई कारसँग ठोक्किन पुगेको प्रहरीको भनाइ छ । ती प्रहरीले भने, ‘मोटरसाइकलको गति अत्यन्तै तीब्र रहेको देखिन्छ । रविभवनमा गल्लीबाट एउटा मोटरसाइकल निस्किएपछि त्यो मोटरसाइकललाई छलेर अगाडि बढ्दा करिब एकसय मिटर माथि पुगेर लेन क्रस गरी कलंकीतर्फबाट आएको कारलाई ठक्कर दिएको देखिन्छ । घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्याएपनि उनको उपचारको क्रममा मृत्यु भएको छ । घटनाबारे बाँकी अनुसन्धान हुँदैछ ।
टंकेश्वर बस्ने मोटरसाइकल चालकले कुखुराको मासु विक्री वितरणको काम गर्ने गरेको र कतै मासु पुर्याउन हिँडेको हुनसक्ने प्रहरीले जनाएको छ । दुर्घटना भएको कारको चालक स्युचाटार बस्ने कर्नेल शेखर जबरा प्रहरीको नियन्त्रणमा रहेकाछन् ।