भ्यालेन्सियालाई हराउँदै साविक विजेता रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

एजेन्सी

भ्यालेन्सियालाई हराउँदै साविक विजेता रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ।

गएराति भएको खेलमा भ्यालेन्सियालाई टाइब्रेकरमा ४-३ गोल अन्तरमा पन्छाउँदै  रियल उपाधि नजिक पुगेको हो।

निर्धारित समयमा १–१ को बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।

टाइब्रेकरमा रियलका कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुस र मार्को एसेन्सियाले गोल गरे।

भ्यालेन्सियाका इडिन्सन काभानी, इलेक्स मोरिवा र ह्युगो गुइलामोनले गोल गर्दा इरे कमर्ट र जोश गायाले गोल गर्न चुकेका थिए।

किङ फाद इन्टरनेसनल स्टेडियम साउदी अरेबियामा बुधबार राति भएको खेलको ३९औं मिनेटमा कप्तान बेन्जेमाकै पेनाल्टी गोलबाट रियललाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको शुरुमै गोल गर्दै भ्यालेन्सिया खेलमा फर्किय । ४६औं मिनेटमा स्यामुइल डियास लिनोले टोनी लाटोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त हुँदै टाइब्रेकरमा लम्बिएको थियो ।

अब रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग आइतबार राति प्रतिस्पर्धा गर्नेछ। रियल बेटिस र बार्सिलोनाले आज राति खेल्दैछन्।