बालकथा : सुनको पासो

हरेक वर्ष पानीगाउँका किसानको जमिनमा धेरै अन्न फल्न थाल्यो । किसानहरु खुसीले गद्गद् हुन थाले । त्यसपछि उनीहरु खेतबारीमा कम जाने र घरमा मीठा मीठा खानेकुरा खाएर दिन बिताउन थाले । यता दिनभरी बाआमाले मीठा मीठा परिकार बनाउन थालेपछि केटाकेटी पनि स्कुल जान चटक्कै छाडे ।

एकदिन विहान झुलुक्क घाम झुल्कनासाथ एकजना भिक्षु त्यस किसान बस्तिमा आए । त्यहाँको अनौठो चालचलन देखेर उनी छक्क परे । विहानैदेखि गाउँमा मीठा मीठा खानेकुरा पाकेका, कोही खाना पकाईरहेका, कोही खाईरहेका, कोही बढी भएको खाना फालिरहेका, कोही पेटभरी खाएर सुतिरहेका, कोही चर्पीतिर दौडिरहेका, कोही मासु खान जनावर काटिरहेका थिए ।
भिक्षुलाई कसैले वास्ता गरेनन् । गाउँभरी यस्तो दृष्य देखेर छक्क पर्दै कुवामा पानी लिन दौडिरहेको एकजना केटोलाई उनले सोधे, बाबु तिम्रो गाउँमा के हु‘दैछ ?
केटाले हतारिएर जवाफ दियो, हाम्रो जमिनमा धेरै अन्न फल्यो । गाउँलेसँग अन्न बेचेको टन्न पैसा छ । त्यसैले, गाउँलेले पहिलेजस्तो दुःख

गर्दैनन् । खेतबारीमा जाँदैनन् । हामी स्कुल पनि जाँदैनौं, खान्छौं, बस्छौं, रमाईलो गर्छौँ, ईच्छा लागे दिनमा रातीको जति सुतिदिन्छौँ । हामी वर्षभरी यस्तै गर्छौँ । यति भनेर केटो पानी लिन दौडियो । भिक्षु केही नभनी अर्को गाउँतिर भिक्षा माग्न गए ।

भिक्षु दिनदिनै शारीरिक रुपमा कमजोर हुँदै गए र केही समयपछि जंगलको आश्रममा ध्यान गरेर दिन बिताउन थाले । धेरै ध्यान गर्दा भिक्षुमा अलौकिक शक्ति पैदा भयो । उनले माटो छुँदा अन्न, ढुंगा छुँदा सुन, पानी छुँदा तेल, पात छुँदा पैसा बन्न थाल्यो ।

स्कुल जान छाडेपछि किसानका छोराछोरीमा पेटभरी खाएर गाउँ डुल्ने बानी बस्यो । एक दिन जंगल डुल्ने भन्दै गाउँबाट निस्किएका एक हुल केटाकेटी तिनै शिक्षुको आश्रममा पुगे ।

भिक्षुलाई देखेर केटाकेटी छक्क परे । केटाकेटीले पानी खान मागे । भिक्षुले पानी दिए तर तेल भयो । शिक्षुको छेउमा रहेको सुगा आकारको ढुंगा घर लान अनुले मागिन्, भिक्षुले दिए त्यो सुन भयो । अनु र साथीहरु सुनको सुगा बोकेर घर फर्के । अनुका बाआमाले छक्क पर्दै सुनको सुगा जमिनमा गाडे । भिक्षुको चमत्कारबारे गाउँभरी हल्ला फैलियो ।

भोलिपल्टदेखि किसानहरु डोकोभरी ढुंगा बोकेर भिक्षु आश्रममा जान थाले । भिक्षु पनि मुसुक्क हाँसेर छोईदिन्थे अनि डोकोभरी सुन बाकेर किसानहरु फर्कन्थे । त्यो सुन सुरक्षाको लागि उर्वर जमिनमुनि गाडेर राख्थे ।

किसानको जमिनमुनि सुनै सुन भयो । अन्न रोप्ने ठाउँ भएन । सुन गाडेर राखेकाले अन्न रोप्ने मौसममा पनि किसानले अन्न लगाएनन् । बरु जमिनको माटो र कुवाको पानी बोकेर भिक्षुकहाँ जान्थे र उनलाई छुन लगाई अन्न र तेल बोकेर घर फर्कन्थे । जमिन खनेर पानीको ठाउँमा तेल जम्मा गर्न थाले ।

केही वर्षपछि त्यस गाउँमा खडेरी पर्‍यो । अन्न कुहिन थाल्यो । पानीका मुहान सुक्न थाले । काम नगर्ने बानीले गाउँका धेरै मानिस रोगी भए । उता भिक्षु पनि आश्रमबाट अचानक हराए ।

अनिकाल बढ्दै गयो । भोकमरीको हाहाकार मच्चिदै गयो । किसानले पानीको सट्टा तेल पिउन थाले । पानीको प्यास मेटिएन । अन्न किन्न जमिनमुनिबाट सुन झिकेर बेच्न थाले तर, कसैले किनेनन् । केही उपाय नलागेर माटो खान थाले, उल्टै बिरामी भएर थलिए ।

अनिकाल झन् चर्किदै गएपछि किसानले त्यो बस्ती छाडेर हिँडे । बाटोमा किसानहरुको भिक्षुसँग भेट भयो । भिक्षु मुस्कुराए । किसानहरु भिक्षुको पाउ परेर रुन थाले । किसानहरुले बिलौना गरे, ‘हजुर हामी बर्बाद भयौं, हजुरमा अलौकिक शक्ति छ, हामीलाई बचाउनुहोस्, पानीको प्यास तेलले मेटिएन, तेल छोइदिएर पानी बनाईदिनुहोस्, हामीले जमिनमुनी गाडेको सुन अनिकाल पर्दा खान मिलेन । हाम्रो जमिनको मलिलो माटो हजुरलाई छुन लगाएर अन्न बनायौ र खायौं । जमिनको मलिलो बाटो सकियो । अब त जमिनमा बालुवामात्र छ, बालुवा छोए सुनमात्र
बन्छ । सुन खान मिलेन । हामीलाई अन्न होइन, त्यही जमिनको मलिलो माटो फिर्ता गरिदिनुहोस्, हामी जमिनमा सुन होइन अन्नको बीउ गाड्नेछौं । अवश्य गाड्नेछौँ ।

भिक्षुले मुस्कुराएर भने, प्यारा किसानहरु संसारमा अन्नभन्दा ठूलो सुन होइन, पानीभन्दा ठूलो तेल होइन, पात भन्दा ठूलो पैसा होइन र परिश्रमभन्दा ठूलो मोज होइन । मसँग सुन र पैसा छैन तर अन्न छ । त्यसैले म बाँचिरहेको छु । तर, तिमीहरुसँग प्रशस्त सुन छ तर भोकले मर्न लागिरहेका छौं ।

किसानहरु लाजले भुतुक्क भएर भिक्षुको मुखमा हेर्न सकेनन् । केटाकेटीहरुले पनि यति ठूलो पाठ भिक्षुको मुखबाट सुन्न पाउँदा छक्क परे । यति भनेर भिक्षु आफ्नो आश्रमतिर हिँडे । किसानहरु त्यहीँबाट आ–आफ्नो गाउँ फर्किए ।

भोलिपल्ट सबै किसानले जमिनमुनिको सुन डोकोमा बोक्दै शिक्षुको आश्रममा पुर्‍याए । भिक्षुले सुन छोए । त्यो सुन अचानक पग्लियो, बाफ बन्यो, बाफ माथिमाथि गयो र पानी भएर बर्सियो । तेल पनि छोइदिए पानी भयो । किसानको जमिन ओसिलो भयो । माटो मलिलो भयो । भिक्षुले मलिलो माटो छोइदिए अन्न भयो । त्यही अन्नको बीऊ किसानले उर्वर जमिनमा रोपे ।

केही महिनापछि जमिन हरियो भरियो भयो । अन्न–बाला झुल्न थाले । किसानहरु खुसी भएर पहिलेको भन्दा जमिनमा धेरै मेहनत गर्न थाले । केटाकेटी पनि दिउँसो स्कुल जाने र बिहान बेलुका खेतबारीमा बाबुआमासँगै काम गर्न थाले ।

खानेकुरा फालेमा प्रकृति माताको सबैभन्दा ठूलो श्राप लाग्ने र भोकमरी तथा अनिकालको पाप लाग्ने विश्वास गर्दै खानेकुरा पनि फाल्न छाडे । आजभोलि पानीगाउँका केटाकेटी स्कुल जाँदा–आउँदा खेतबारीमा लहलह परेको हरियो–पहेँलो कृषि–बाला देखेर मुस्कुराउँछन् ।

रातोपाटीबाट