ओलीले पत्रिका देखाउदै : मेरा बिरुद्ध मोर्चा बन्दी गर्ने हो भने अलग–अलग बस्यौं

२४ बैशाख, काठमाडौं । गएको बैशाख २० मिलेका नेकपाका नेताहरूबीच पुनः दूरी बढेको छ । सचिवालय बैठकमा मिल्यौँ भनेर निस्केका नेताहरू २ दिनमा नै पुनः पुरानै ठाउँमा पुगेका छन् ।
सचिवालय बैठकमा भएका निर्णयहरु नमान्ने भनेपछि नेकपामा पुनःविवाद आएको एक स्थायी कमिटी सदस्यले बताए । सचिवालय बैठक पछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई राजनीतिक प्रतिवेदन लेख्न भने । तर, अहिलेसम्म राजनीतिक दस्तावेज लेख्न भन्दा पनि आआफ्नो अडान कसरी कार्यान्वयन गराउने भन्नेमा नेताहरु छलफलमा रहेका बुझिएको छ ।
अहिले अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले राजनीतिक प्रतिवेदन लेख्नु पर्ने हो । तर, आन्तरिक विवादले २५ गते बस्ने स्थायी कमिटीको बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन भन्दा पनि पुनः विवाद मिलाउन नेताहरू व्यस्त रहेका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए । उनले भने, ‘नेकपामा अवस्था खासै त्यति सहज छैन । सचिवालय बैठक सकिएपछि पुनः अवस्था पहिलेको ठाउँमा नै पुगेको छ । त्यहीँ भएर नेतृत्व तहमा पुनः कसरी मिलेर जान सकिन्छ भनेर छलफल भइरहेका छन् ।
‘एकताको स्प्रिट अनुसार चल्नुपर्छ । गनगन गरेर अस्थिर भएर पार्टी चल्दैन । पार्टी विधि अनुसार चल्छ । एकता गर्दा जुन स्प्रिट थियो त्यसलाई कायम गर्नु नै अहिलेको आवश्यकता हो’, स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले भने, ‘अहिले आएर अध्यक्ष तथा प्रधानमन्त्रीलाई राजीनामा दिन भन्नुमा कुनै तुक छैन । यो वेमौसमको माग
हो । अहिले अध्यक्षद्धयले मिलेर गए समस्या समाधान हुन्छ । केपी ओलीले कुनै पनि पदबाट राजीनामा दिनु हुन्न ।
नेकपाको सचिवालय बैठकमा आत्मआलोचना गदै सबै सदस्यहरूले अब मिलेर जाने सामूहिक छलफलबाट पार्टी सञ्चालन गर्ने र सरकार सञ्चालन गर्न पनि पार्टीमा छलफल गर्ने निणय भएको एक सचिवालय सदस्यले बताए । ती सदस्यले भने, ‘सहमित भएको दोस्रो दिन नै अध्यक्ष तथा प्रधानमन्त्री ओली पछाडि हट्दा फेरी समस्या आएको छ । हेरौ के हुन्छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ४ जना नेताहरूबीच छुट्टाछुट्टै भेटवार्ता भएका छन् । तर, भेटवर्ता भने सुखद नभएको पौडेलले बताए ।
सचिवालय बैठक पछि पुनः ४ जना नेताहरू ललितपुरको हरिसिद्धिमा बैठक बसेर आफूविरुद्ध घेराबन्दी गरेको भन्दै ओलीले असन्तुष्टि प्रकट गरेको बालुवाटार स्रोतले बतायो ।
ओलीले १ साप्ताहिक पत्रिका नै देखाउँदै प्रचण्डसँग असन्तुष्टि पोखेको स्रोतले बतायो । प्रधानमन्त्रीको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘सचिवालय बैठक सकेपछि पनि हरिसिद्धिमा गएर मेराविरूद्ध मोर्चाबन्दी गर्नुभयो । हेर्नुहोस् यो पत्रिका । यसरी मेराविरुद्ध निर्णय गर्ने हो भने आआफ्नो बाटो लाग्न सकिन्छ ।
ओलीको कुरा सुनेका प्रचण्डले पत्रिकाले त के लेख्छन् के सबै विश्वास मानेर साध्य हुन्छ भन्दै ओलीलाई आश्वस्त पार्न खोजेको ती सदस्यले बताए ।
ओलीले अहिले आफू र आफूनिकटका कुनै पनि नेताहरूलाई दोहोरो पदबाट हटाउन नचाहँदा पुनः पार्टीमा समस्या आएको नेपाल निकट एक स्थायी कमिटी सदस्यले बताए ।
माधवकुमार समूहको भने सरूबाट नै एक व्यक्ति एक पदको अवधारणामा पार्टी चल्नुपर्छ भन्ने अडान राख्दै आएको छ । कसैले २–२ पद पाउने कसैले पार्टीमा काम नै नपाएर बस्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने नेपाल खेमाको अडान छ ।
ओलीले मंगलबार वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई बालुवाटार बोलाएर छलफल गरेका थिए । हिजोको भेटबारे खनाल निकट एक नेताले खनालको भनाई भन्दै भने, ‘वरिष्ठ नेता जेएन कमरेडले प्रधानमन्त्री ज्यूलाई पार्टी सर्वोपरी संस्था हो । पार्टीले गरेका निर्णय सबैले मान्नुपर्छ । चित्त नबुझेका कुरा बैठका बहस छलफल गर्न सकिन्छ । तर, पार्टीमा भएका निर्णय नमान्ने छुट कसैलाई छैन । मेरो बटम लाइन यही हो ।
उता ओली समूह पनि कुनै पनि हालतमा एक व्यक्ति एक पद तत्काल नमान्ने अडानमा रहेका छ । ‘पार्टी एकता २ अध्यक्षले गर्दा भएको हो । यताका अध्यक्ष केपी ओली र उताका अध्यक्ष प्रचण्ड हुन् । यी दुई अध्यक्ष भएपछि किन राजीनामा दिने । प्रधानमन्त्री त सरकारको पद हो । पार्टीमा सबैको पद छन्’ ओली निकट एक सदस्यले भने, ‘अहिले राजीनामा कुनै पनि हालतमा नदिने बरू स्थायी कमिटीमा जसरी प्रचण्ड नेपाल समूह प्रस्तुत हुन्छन् त्यसरी नै हामीहरूले अगाडि बढ्ने रणनीति बनाएका छौँ ।
उनले अगाडि थपे, ‘पार्टी ठूलो हो । प्रधानमन्त्री त सरकारको नेतृत्व गरेको हो । अध्यक्षले गर्दा पार्टी एकता भएको हो । यो अरुको कारण होइन । अहिले अरुले बीचमा खोचे थापेर हुन्छ । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कुनै पनि पदबाट राजीनामा दिनु हुन्न जस्तो आउछ त्यसरी नै अगाडि बढीन्छ ।
प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले भने, ‘अहिले कोरोनाको महामारी छ । बजेट ल्याउनु पर्ने छ । तर यो पार्टी यसरी नै चल्ने अवस्था भने आउदैन । धेरै अन्यौल बनाउनु भयो प्रधानमन्त्रीले आफैले गरेका निर्णय मान्दैन भन्नु हुन्छ । यस्तो पनि पार्टी हुन्छ ।
हिजो नै २० जना स्थायी कमिटी सदस्यले भेला गरेर एक व्यक्ति एक पदको अवधारणा जसरी पनि लागू गराउने रणनीति अपनाएका छन् । उनीहरुले कसैले काममाथि काम कसैले पार्टीमा काम नै नपाउने अवस्था आएकोले यसको अन्त्य हुनु पर्ने माग स्थायी कमिटीमा राख्ने बताएका छन् ।
भेलामा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘सचिवालयमा कुरा मिलेपनि हामीहरु हाम्रो कुरा राख्ने छौ र एक व्यक्ति एक पदको अवधारणामा पार्टी चल्नु पर्छ । यो कुरा लागू गराएर नै स्थायी कमिटीको बैठक सकिन्छ ।
समाचार शिलापत्रबाट