विश्व स्वास्थ्य संगठनका प्रतिनिधि नेपालगंजमा

२४ बैशाख, काठमाडौं । हालसालै ५ नम्बरको प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा एउटै टोल र आसपासमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि त्यहाँ पुगेका छन् । कोरोना समुदायमा कसरी फैलियो भनेर घटना अनुसन्धानका लागि उनीहरूले समुदायमा सोधपुछ गरिरहेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएबा छन् ।
के कारणले कोरोना फैलिएको हो, ह्यूमन रिसोर्सहरू के छ र फर्स्ट केस कुन हो ? भन्ने जस्ता कुरा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूले अध्ययन गर्न थालेको श्रेष्ठले बताए । नेपालगञ्ज वडा नम्बर ८ को महेन्द्र पार्कको एक मस्जिदमा बस्ने ११ जनाको स्वाब परीक्षण गर्दा ६० वर्षीय एक जनामा शुक्रबार पहिलो पटक कोरोना पुष्टि भएको थियो। त्यसपछि आइतबार उनकै सम्पर्कमा आएका थप १५ जनामा र मंगलबार बिहान थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तर उनीहरू कसैमा पनि लक्षण भने देखिएको छैन ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनीहरू सबैको अवस्था हालसम्म सामान्य रहेको छ ।
धार्मिक संस्थामा बस्नेहरुलाई आशंका लागेर स्वाब परीक्षण गर्दा लक्षणबिना नै कोरोना देखिएपछि त्यसको अध्ययनको लागि विश्व स्वास्थ्य संगठनको टोली आएको भन्ने जानकारी आफूले पाएको नेपालगञ्जकी उपमेयर उमा थापाले बताइन् ।
नेपालगञ्जका पहिलो कोरोना संक्रमित ६० वर्षीय व्यक्तिको परिवारका कुनै पनि सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ बेहना टोल निवासी मस्जिदमा पढाउने ती शिक्षकका परिवारको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । उनका परिवारका ६ सदस्यको पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
नेपालगञ्जमा ६० वर्षीय ती पुरूषमा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले उनका परिवारका सदस्यलाई स्थानीय महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगेर राखेको थियो ।
तर उनकी पत्नी, चार छोरा तथा बुहारीको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको श्रेष्ठले जानकारी दिए ।
पहिलो संक्रमित ६० बर्षीय ती व्यक्तिले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कस्थित जोलहनपुर्वामा रहेको अन्सारियन मस्जिदमा बिहान–बेलुका नमाज पढ्नुका साथै बालबालिकालाई उर्दु भाषा पढाउने काम गर्दै आएका थिए ।
जोलहनपुर्वास्थित मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक उनले कतिपय बालबालिकालाई घरमै पुगेर पढाउने गरेका
थिए । तिनै पहिलो संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाबको पिसिआर परीक्षण गर्दा २३ जना संक्रमित भेटिएका थिए ।
मंगलबार पनि संक्रमित व्यक्तिको सम्पर्कमाआएका ५६ जनाको स्वाब संकलन गरिएको थियो। बुधबार उक्त टोलभन्दा अलिकति भिन्न स्थानमा ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा स्वाब संकलन गर्ने प्रक्रिया सुरू भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताएका छन् ।