Breaking News

सेनेगल फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश

१४ मंसिर, काठमाडौं । समूह ए को निर्णायक खेलमा इक्वेडरलाई २-१ पराजित गर्दै सेनेगल कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

खालिफा इन्टरनेशनल स्टेडियममा भएको खेलमा सेनेगलका लागि इस्माइल सार र कप्तान कालिडोउ काउली बेलीले गोल गरे । इक्वेडरका माइकल साइसेडोले एक गोल गरेपनि पर्याप्त भएन ।

तीन खेलबाट दुई जित र १ हारको नतिजा निकालेको सेनेगल समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

एक जित एक बराबरी र एक हारबाट ४ अंक जोडेको इक्वेडर समूहमा तेस्रो हुँदै बाहिरियो ।

नकआउट चरणमा पुग्न इक्वेडरलाई सनेगल विरुद्ध बराबरी नतिजा नै पर्याप्त थियो । तर, सेनेगलका लागि भने जित्नैपर्ने बवश्यकता थियो । जित्नैपर्ने खेलमा इस्मायल सारले पेनाल्टीमा गोल गर्द ४४औं मिनेटमा सेनेगललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा इक्वेडरले बराबरी गोल फर्काउँदै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको थियो । ६८औं मिनेटमा साइसेडोले गोल गर्दै खेल बराबरी गर्दा इक्वेडर अगाडि बढ्ने समिकरण बनेको थियो ।

तर, ७०औं मिनेटमा कोउलीबेलीले गोल गर्दै सेनेगललाई २-१ को अग्रता दिलाए ।

पहिलो खेलमै नेदरल्याण्ड्ससँग पराजित भएको सेनेगलले पुनरागमन गर्दै त्यसपछिका दुई खेलमा जित निकाल्यो । उता पहिलो खेलमा कतारलाई हराएर दोस्रो खेलमा नेदरल्याण्ड्सलाई बराबरीमा रोक्न सफल भएको इक्वेडर भने निर्णायक खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरियो ।