दार्चुलामा आज सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् । सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफैंले प्रधानमन्त्री बनाए पनि उनले आफैले बनाएको संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको बताए ।
उनले तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुुस् भनेकाले आफूले सहयोग गरेर दोस्रो पटक प्रधानमन्त्री बनाएको भन्दै पुन प्रधानमन्त्री बनेर देखाउन चुनौती दिए । उनले भने– ‘तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनुस् ।’
अध्यक्ष प्रचण्डले केपी ओलीले आफूले लिम्पियाधुरा लिपुलेक समेटेर बनाएको नक्सा पनि ओलीले बाध्य भएर मात्रै बनाएको बताए । ‘उहाँले नक्साको कुरा गर्नुहुन्छ । केपी ओलीले होइन यो नक्सा बनाएको भ्रममा नपर्नुहोला । नेकपामा मसहित भएर पार्टीको बहुमतले बाध्य बनाएपछि मात्रै बनाएको हो’, प्रचण्डको भनाइ छ ।
प्रचण्डले ओली कायर मान्छे रहेको भन्दै चुनाव आएपछि दार्चुला आएर गोहीको आशु चुहाउने गरेको बताए । ‘जब चुनाव आउँछ अनि दार्चुला आएर गोहीको आँसु चुहाउँछन् केपी ओली । त्यो गोहीको आँसु हो, सक्कली होइन ।