नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले एशियन एमेच्योर चेस च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रा कायमै

नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रा कायम राखेका छन् । पाँच चरणको समाप्तिमा ४ दशमलव ५ अङ्क जोडेका छन् ।

डिफेन्डिङ च्याम्पियन समेत रहेका थापा चौथो चरणको खेलमा आफूभन्दा कम वरियताका भारतीय खेलाडी मधुसूदन केआरसँग बराबरीमा रोकिए भने आइतबार राती सम्पन्न पाँचौँ चरणको खेलमा प्रतियोगिताका दोस्रो वरियताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गर्न सफल रहे ।

च्याम्पियनसिप अन्तर्गत सोमबार मध्यान्ह हुने छैटौँ चरणको खेलमा थापाले दोस्रो बोर्डमा इरानका महमुदी एम सदेगसँग प्रतिस्पर्धा गर्नेछन् । पाँच चरण पश्चात् इरानी खेलाडीद्वय फुलाडी बेहरुज र जमती सोभन पाँचपाँच अंकका साथ शीर्ष स्थानमा रहेका छन् भने इरानकै महमुदी, पाकिस्तानका जुनाईद सोहिल र नेपालका कृष्ण थापा समान ४ दशमलव ५ अंकका साथ संयुक्त दोस्रो स्थानमा रहेका छन् ।

नौ चरणसम्म चल्ने च्याम्पियनसिपका बाँकी ४ खेलमा समेत अनुकूल नतिजा निकालेर नेपाल र नेपालीलाई दसैँको उपहार दिन आतुर रहेको कृष्ण थापाले बताए । २० एसियाली देशका १४६ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेको च्याम्पियनसिप अक्टोबर ५ विजयादशमीको दिन सम्पन्न हुनेछ ।