इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक थोमस टुचेल बर्खास्तीमा

२२ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक थोमस टुचेल बर्खास्तीमा परेका छन् ।

मंगलबार राति च्याम्पियन्स लिग अन्तर्गत डाइनामो जग्रेबसँग पराजित भएपछि चेल्सीले प्रशिक्षक बर्खास्त गर्ने निर्णय लिएको हो । क्लबको वक्तव्यमा भनिएको छ, ‘आफ्नो समयमा क्लबमा सबै प्रयासका लागि प्रशिक्षक थोमस र उनका कर्मचारीप्रति आभार व्यक्त गर्दछ । च्याम्पियन्स लिग, सुपर कप र क्लब विश्वकप जिताउने प्रशिक्षकलाई चेल्सीले आफ्नो इतिहासमा सही स्थान दिनेछ ।’

चेल्सीको वक्तव्यअनुसार नयाँ मालिकले क्लबलाई अझै अगाडि लैजानका लागि कडा मिहिनेत गरिरहेको र यो परिवर्तन त्यसका लागि आवश्यक छ ।

चेल्सीले नयाँ प्रशिक्षक नियुक्ति नगरून्जेल यसबारे कुनै टिप्पणी नगर्ने प्रष्ट पारेको छ । जर्मन टिम बोरुसिया डर्टमण्डका यी पूर्व प्रशिक्षक सन् २०२१ मा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइनबाट चेल्सीमा अनुबन्ध भएका थिए ।