२२ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २६ गतेदेखि २८ गतेसम्म अन्तर्वार्ताको मिति तय गरेको छ ।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ को ८० शिक्षक पदको लागि १०४ जना अन्तर्वार्ताको लागि उत्तीर्ण भएका छन् । परीक्षामा ३३६ जना सहभागी भएका थिए ।
मधेश प्रदेशको लागि २२ रिक्त पदको लागि ४८ जना सहभागीमध्ये २९ जना उत्तीर्ण भएका छन् । बागमती प्रदेशको लागि ६६ रिक्त पदको लागि २३९ जनाले परीक्षा दिएका थिए । त्यसमध्ये ७५ जना अन्तर्वार्ताको लागि उत्तीर्ण भएका छन् । गण्डकी प्रदेशमा ६१ रिक्त पदको लागि २७८ जनाले परीक्षा दिएको मध्येमा ७३ जनाले परीक्षा उत्तीर्ण गरेका छन् ।
त्यस्तैगरी लुम्बिनी प्रदेशको लागि ३८ रिक्त दरबन्दीको लागि १७७ जनाले परीक्षा दिएकोमा ४७ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । कर्णाली प्रदेशको लागि २० शिक्षक पदका लागि ४२ जनाले परीक्षा दिएको मध्ये जम्मा १७ जनाले उत्तीर्ण गरेका छन् । सुदुरपश्चिम प्रदेशमा २७ शिक्षक पदका लागि १२९ जनाले परीक्षा दिएका थिए । ती मध्येमा २८ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् ।
आयोगले चैत १५ गते सामान्य र असार ९ गते विषयगत परीक्षा लिएको थियो ।
आयोगले उत्तरपुस्तिकामा नाम ठेगाना लेखेको एकजनाको उत्तरपुस्तिका र सामान्य परीक्षामा अनुत्तीर्ण व्यक्तिले अर्काको रोल नम्बरबाट परीक्षा दिएका एक जना गरी दुई जनाको उत्तरपुस्तिका रद्द गरेको जनाएको छ ।
लिखित परीक्षाको नतिजामा चित्त नबुझेको अवस्थामा पुनर्योग गर्न चाहनेले भदौ २९ गते कार्यालय समयभित्र आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
परीक्षार्थीले अन्तर्वार्ता हुने दिन प्रत्येक उम्मेद्वारले अन्तर्वार्ता केन्द्रमा अनिवार्य रुपमा व्यक्तिगत विवरण फाराम बुझाउनुपर्ने जनाएको छ ।