हङकङलाई ३८ रनमा समेट्दै पाकिस्तान सुपर फोरमा

एजेन्सी

हङकङमाथि सानदार जित निकाल्दै पाकिस्तान एसिया कपको सुपर फोरमा पुगेको छ।

हङकङलाई ३८ रनमा अल आउट गर्दै पाकिस्तान १ सय ५५ रनको फराकिलो अन्तरमा जित निकाल्दै टि२० एसिया कप २०२२ को सुपर फोरमा स्थान पक्का गरेको हो।

योसँगै एसिया कप २०२२ को सुपर फोरमा पुग्ने सबै टोली टुंगो लागेका छन्।

जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको हङकङ १०.४ ओभरमा मात्र ३८ रनमा अल आउट भयो। हङकङका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान निजाकत खानले १३ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाए। यस्तै किन्चित शाहले १० बलमा १ चौकासहित ६ रन बनाए।

हङकङको यो टि २० आईमा सबैभन्दा कम योगफल हो। यसअघि २०१४ को टि२० विश्वकपमा नेपालसँग ६९ रनमा भएको अल आउट सबैभन्दा कम योगफल रहँदै आएको थियो।

त्यस्तै पाकिस्तानको यो टि२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो। यसअघि पाकिस्तानले टि२० आईमा सर्वाधिक ठूलो जित वेस्टइन्डिजविरुद्ध २०१८ मा १ सय ४३ रन थियो।

हङकङलाई सस्तैमा समेट्न पाकिस्तानका स्पिनर शादब खानले करियरकै उत्कृष्ट बलिङ गर्दै २.४ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए। यस्तै मोहम्मद नवाजले पनि करियरकै उत्कृष्ट बलिङ गर्ने क्रममा २ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए। तीव्र गतिका बलर नसिम शाहले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो। उसका लागि ओपनर मोहम्मद रिजवानले ५७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनमा अविजित रहे।

यस्तै खुशदील शाहले बिस्फोटक ब्याटिङ गर्दै १५ बलमा ५ छक्कासहित ३५ रनमा अविजित रहे। उनले अन्तिम ओभरमा तीव्र गतिका बलर एजाज खानलाई चारछक्कासहित २९ रन जोडे।

तेस्रो विकेटका लागि खुशदील र रिजवानले २३ बलमा ६४ रनको साझेदारी गरेका थिए। अन्तिम ५ ओभरमा पाकिस्तानले ७७ रन बनाएको थियो।

यस्तै फकर जमानले ४१ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाए।

दोस्रो विकेटका लागि जमान र रिजवानले ८१ बलमा १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । कप्तान बाबर आजम ९ रनमा कटएण्ड बोल्ड आउट भएका थिए।

हङकङका एहसान खानले २ विकेट लिए।

यो जितसँगै समूह ए बाट दोस्रो हुँदै पाकिस्तान सुपर फोरमा प्रवेश गरेको छ। यस्तै भारतले पनि दुबै खेलमा जितका साथ सुपर फोरमा स्थान बनाएको छ।

समूह बी बाट अफगानिस्तान र श्रीलंका सुपर फोरमा पुगेका छन्।

सुपर फोरमा यी चार टोलीबीच एकअर्कामा प्रतिस्पर्धा हुनेछ। हरेक टोलीले एक अर्काबीच खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।