पहिलो एकदिवसीयमा केन्याले नेपालसामू २१९ रनको लक्ष्य पेश

१७ भदौ, काठमाडौं । पहिलो एकदिवसीयमा केन्याले नेपालसामू २१९ रनको लक्ष्य पेश गरेको छ ।

नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८।१ ओभरमा अलआउट हुँदै २१८ रनको योगफल खडा गरेको हो । केन्याले सुरुवाती ४ विकेट सस्तैमा गुमाएको थियो ।

पाँचौं विकेटका लागि राकेप र कोलिन्सले १३० रनको शतकीय साझेदारी गरी पारी उकासेका थिए ।

राकेपले ७५ बलमा ७ चौका र २ छक्कासहित ६७ रन बनाए । कप्तान रोहितले रनआउट गर्नुअघि कोलिन्सले ११६ बलमा ४ चौका र २ छक्कासहित ६२ रनको संयमित पारी खेले ।

पाँच टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला ३–२ ले जितेपछि नेपालले केन्यासँग तीन एकदिवशीय खेलको शृंखला खेल्न लागेको हो ।