काठमाडौं । पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ ।
भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको किरण हो । तर अहिले धेरै व्यक्ति भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको पराबैजनी किरणको सम्पर्कमा कमै मात्र आउन पाएका हुन्छन् । किनकि बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका कारण मानिसहरुलाई घाममा बस्ने फुर्सद नै कम छ । सहरका घरहरु एकापसमा जोडेर बनाइएकाले कोठा कोठामा सूर्यको किरण छिर्न पनि पाउँदैन ।
मानव छालाले सूर्यको प्रकाशमा भएको पराबैजनी किरणबाट भिटामिन ‘डी’ को निर्माण गर्छ र शरीरले उसलाई संग्रहित राखेर पछि उपयोग गर्न थाल्छ । छालाले भिटामिन ‘डी’को निर्माण गर्न सकेन भने यसको कमी हुन्छ । भिटामिन डी’ पाइने खाना जस्तै अण्डा, माछाको कम सेवन गर्दा पनि यो समस्या देखा पर्ने सुस्वास्थ्य अस्पतालका अध्यक्ष सुदर्शन बस्नेत बताउँछन् ।
भिटामिन डी को सप्लिमेन्ट कस्ता व्यक्तिले लिने ?
नेपालमा अहिले धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी भएको पाइन्छ । यसको मात्रा जाँच गराउनेहरुको संख्या कम भएपनि जाँच गरेका प्रायः व्यक्तिमा यसको कमी नै देखिएको पाइन्छ । त्यस्ता व्यक्तिले सप्लिमेन्ट लिनुपर्ने पोषणविद् कला नेपाल बताउँछिन् ।
‘महिनावारी बन्द भएका महिला र पोस्ट कोभिडका बिरामीमा पनि भिटामिन ‘डी’को कमी हुन्छ । साथै थाइराइडका बिरामीहरूमा पनि भिटामिन ‘डी’को कमी हुन्छ,’ उनी भन्छिन्, ‘अहिले धेरै जना अफिसभित्रको काम गर्छन् । बाहिर घामको सम्पर्कमा आएका हुँदैनन् त्यस्ता व्यक्तिहरूमा पनि यसको कमी हुने गर्छ । त्यसैले यस्ता व्यक्तिले पनि चिकित्सकको सल्लाह अनुसार भिटामिन ‘डी’ सप्लिमेन्टको सेवन गर्न सक्छन् ।’
बिहान ८ देखी ११ बजेसम्मको घाममा बस्नु उचित
बिहानको घाममा भिटामिन ‘डी’ प्रशस्त मात्रामा पाइने भएकाले बिहान ८ देखि ११ बजेको घाममा बसेर सनबाथ लिंदा शरीरमा भिटामिन ‘डी’ को कमी हुन पाउँदैन । यो अवधिभित्रमा आधा घण्टा थोरै मोस्चराइजर लगाएर घाममा बस्न सकिने बस्नेत बताउँछन् ।
‘यसरी घाममा बस्दा शरीरले सूर्यको प्रकाश सोस्न सक्ने किसिमको कपडा लगाउनुपर्छ । यसरी कम्तीमा पनि आधा घण्टा दैनिक घाममा बस्न सकियो भने यस्तो समस्या देखा पर्दैन ।’
भिटामिन ‘डी’ को कमीले देखिने समस्या
भिटामिन ‘डी’ को कमीले हड्डीको समस्या निम्ताउँछ । भिटामिन ‘डी’को कमीले रोगसँग लड्ने क्षमता पनि कम
गरिदिन्छ । यसको कमीले हातखुट्टा झम्झमाउने, थकाइ लाग्ने र कपाल झर्ने जस्ता समस्या देखिन सक्छन् । तर जाँच नै नगरी तथा चिकित्सकको सल्लाह बिना भिटामिन ‘डी’ सप्लिमेन्टको सेवन भने गर्नुहुँदैन । आफूखुसी यसको सेवन गर्दा झनै नकारात्मक असर गर्न सक्ने पोषणविद् नेपाल बताउँछिन् ।
भिटामिन ‘डी’ को मात्रा कति ?
भिटामिन ‘डी’ को स्तर ३० देखि ७४ नानोग्राम प्रतिमिलिमिटर भए यसलाई सामान्य मानिन्छ । २१ देखि २९ नानोग्राम हुनु अपर्याप्त हो । यस्तै २० नानोग्राम प्रतिमिलिमिटर भन्दा तल हुनुले शरीरमा यसको कमी रहेको देखाउँछ । ५ नानोग्राम भन्दा कम हुनु भनेको समस्यामा पर्नु हो ।
भिटामिन ‘डी’ का स्रोत
भिटामिन ‘डी’ बोसोमा घुलनशील हुन्छ । यसले शरीरलाई क्याल्सियम सोस्न सघाउँछ । भिटामिन डी को सबैभन्दा राम्रो स्रोत भनेको सूर्यको किरण हो । साथै खानाबाट पनि हामी भिटामिन डी प्राप्त गर्न सक्छौं । अण्डा, माछा, चिज, च्याउ, गाँजर आदिको सेवनबाट पनि केही मात्रामा भिटामिन डी प्राप्त हुन्छ । तर खानाबाट पनि भिटामिन ‘डी’ को पर्याप्त मात्रा प्राप्त नहुने भएकाले सप्लिमेन्ट सेवन गर्नुपर्ने पोषणविद् नेपालको सुझाव छ ।