अबको केही समय पछि एसईईको नतिजा आउँदैछ । फलामे ढोका मानिने एसईई पास गरेपछि विद्यार्थीहरुमा कुन विषय पढ्ने भन्ने चिन्ता र अन्यौलताले सताउँछ । आफ्नो नतिजाअनुसार सही निर्णय लिन नसक्दा कतिपय विद्यार्थीहरु पछि पछुताउने समेत गरेका छन् ।
एसईईपछि कस्तो खालको विषय पढ्ने ? त्यसका लागि कति खर्च लाग्छ ? त्यो विषय पढ्दा करिअर राम्रो बन्छ कि
बन्दैन ? जस्ता प्रश्न हरेक विद्यार्थीको मनमा खेलिरहन्छन् । एसईईपछि उच्च माध्यमिक तहको अध्ययनको सुरु हुन्छ । यही विन्दुबाट आफ्नो करियरको आधार तय गरिन्छ ।
उच्च माध्यमिक तहको जुन विषय पढिन्छ, त्यही मार्फत विद्यार्थीको करिअर बन्छ । त्यसैले समयमै सही विषय छान्नुभयो भने मात्रै त्यसले तपार्इंको करिअर राम्रो बन्छ । एसईई सकेपछि उच्च शिक्षामा प्राविधिक र अन्य विषय गरेर दुई किसिमका विषय छान्न पाइन्छ ।
प्राविधिक विषय पढ्न अलि खर्च बढी लाग्छ । त्योसँगै मेहनत पनि बढी चाहिन्छ । तर, यो विषय पढ्न सक्यो भने करिअर राम्रो हुन्छ । एसईई पास गरेका विद्यार्थीले कस्तो खालको प्राविधिक विषय पढ्ने भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।
प्राविधिक विषय
अहिले प्राविधिक विषयमा आकर्षण छ । नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्राविधिक विषय पढाउँछ । परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेले प्राविधिक विषयतर्फ ४९ वटा कोर्षको पाठ्यक्रम तयार पारिएको बताए । ती सबै लागु हुन नसकेको उनको भनाई छ ।
अहिले गत वर्षदेखि नर्सिङको कार्यक्रम बन्द छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐनका कारण एसईईपछि पढ्न पाइने नर्सिङ कार्यक्रममा भर्ना लिन नपाइएको काफ्लेको भनाई छ ।
परिषद्ले आफ्ना आंगिक, साझेदारी, सामुदायिक विद्यालय तथा निजी स्तरमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । एसईईपछि विद्यार्थीका लागि प्रमाणपत्र तह नर्सिङ, डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्यसम्बन्धि विभिन्न कार्यक्रम, डिप्लोमा तथा प्रमाणपत्र तहका इन्जिनियररिङ तहका कार्यक्रममा पढाई हुने उनको भनाई छ ।
प्रमाणपत्र तह नर्सिङ पढ्न चाहने विद्यार्थीका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनमत ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ ।
समग्रमा न्यूनमत २ जिपिए ल्याएका विद्यार्थीले प्रमाणपत्र तह नर्सिङ पढ्न सक्नेछन् । तीन वर्षे यो कोर्षका लागि चार लाख ७५ हजार शुल्क तोकिएको छ । त्यस्तै हेल्थ असिस्टेन्ट पनि पढ्न सकिनेछ । यसका लागि पनि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनमत ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । तीन वर्षे हेल्थ असिस्टेन्ट पढ्नको लागि चार लाख चार हजार शुल्क तोकिएको छ ।
त्यस्तै तीन वर्षे नै कोर्ष रहेको डिप्लोमा इन फार्मेसीका लागि तीन लाख ३७ हजार ८ सय रुपैयाँ शुल्क तोकिएको छ । सदस्य सचिव काफ्लेले स्वास्थ्यमा यी बाहेक नेत्रविज्ञान, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी, दन्तविज्ञान, सामान्य आयुर्वेद चिकित्सा, अक्कुपन्चर एण्ड अकुप्रेसर र डिप्लोमा इन फिजियोथेरापी लगायतका विषय पनि पढ्न पाइने बताए ।
स्वास्थ्यबाहेक इञ्जिनियरिङ, कृषि तथा वनविज्ञान, आतिथ्य सत्कार र सामाजिक विषय पनि अध्ययन गर्न पाइन्छ । सिटीईभिटीले यी कार्यक्रमको अवधि १८ महिनेदेखि ३ वर्षसम्मको राखेको छ ।
इञ्जिनियरिङतर्फ कुन कुन विषय पढ्न पाइन्छ ?
इञ्जिनियरिङतर्फ डिप्लोमा इन सिभिल इञ्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इञ्जिनियरिङ विषय पढ्न पाइन्छ ।
त्यस्तै, डिप्लोमा इन इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी, डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इक्विपमेट इञ्जिनियरिङ र डिप्लोमा इन रेफ्रिजरेसन एण्ड एअर कन्डिसनिङ विषय पढ्न पाइने सीटीईभिटीले जनाएको छ ।
तीन वर्षे यी कोर्षका लागि फरक फरक शुल्क लाग्छ । डिप्लोमा इञ्जिनियरिङतर्फका सम्पूर्ण कार्यक्रमका लागि विज्ञान र गणितमा न्यूनतम ‘सी’ ग्रेड र अंग्रेजीमा न्यूनतम ‘डी’ प्लस ग्रेट ल्याएको हुनुपर्छ ।
कृषि तथा वनविज्ञानमा कुन विषय पढ्ने ?
कृषि तथा वनविज्ञान अन्तर्गत डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन एग्रिकल्चर (पशुविज्ञान), डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी र डिप्लोमा इन फरेष्ट्री विषय पढ्न पाइनेछ । डिप्लोमा तहका कृषि, फुड एण्ड डेरी टेक्नोलोजी र फरेष्ट्रीका लागि अंग्रेजी, गणित र विज्ञानमध्ये कुनै २ विषयमा न्यूनतम सी र कुनै एक विषयमा न्यूनतम डी प्लस ग्रेड आएकाले पढ्न पाउने छन् । हस्पिटालिटी डिप्लोमातर्फ होटल म्यानेजमेन्ट विषय पढ्न पाइनेछ ।
यसका लागि लागि अंग्रेजी, विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ । सोसल वर्कतर्फ डिप्लोमा इन इन्टरप्रेनसिप डेभलेपमेन्ट र डिप्लोमा इन सोसियल वक्र्स विषय छन् । सो पढ्नका लागि विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ ।
सिटिईभीटीमार्फत् सञ्चालित आंगिक शिक्षालय, साझेदारी शिक्षालय, सामुदायिक विद्यालय र निजी स्तरबाट सञ्चालित शैक्षिक संस्थामा कक्षा संचालन हुने सदस्य सचिव काफ्लेको भनाई छ ।
सिटीईभिटीकै ६३ वटा आंगिक शिक्षालय छन् । त्यस्तै ४३ वटा शिक्षालय साझेदारीमा चलेका छन् । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत ५७३ वटा शिक्षालय छन् भने निजी क्षेत्रबाट ४२९ वटा सम्बन्धन प्राप्त शिक्षण संस्थाले प्राविधिक विषय अध्ययन अध्यापन गराउँदै आएको सदस्य सचिव काफ्लेले बताए ।
देशभर रहेका प्राविधिक विषय अध्यापन गराउने शिक्षण संस्थामा ८४ हजार विद्यार्थीले प्राविधिक विषय पढ्न पाउने क्षमता छ । तर, गत वर्ष जम्मा सिट क्षमताको ७० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएका थिए ।
सिट क्षमताअनुसार विद्यार्थी भर्ना हुन नसक्नु पछाडि विभिन्न कारण रहेको सिटीईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेको भनाई छ ।
प्राविधिक विषयको महत्व बुझ्न नसक्नु, शुल्क महँगो हुन्छ भन्ने भ्रममा रहनु जस्ता कारणले विद्यार्थीहरु प्राविधिक विषय पढ्न कम आउने गरेका छन् । सिटीईभिटी अन्तर्गत डिप्लोमा तहमा ३२ वटा र प्रि डिप्लोमा तहतर्फ २२ वटा विषयमा पढाई हँुदै आएको छ ।
छात्रबृत्तिबारे अनभिज्ञ
सिटीईभिटी अन्तर्गत प्राविधिक विषय पढ्नको लागि दुई किसिमको कोटा छुट्याइएको हुन्छ । पूर्ण शुल्कीय कोटा र छात्रबृत्ति कोटा गरी दुई किसिमबाट विद्यार्थीले पढ्न पाउँछन् ।
सिटीईभिटीका हरेक कार्यक्रममा अनिवार्य रुपमा छात्रबृत्ति प्रदान गरिन्छ । प्रत्येक २० स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा वर्गीकृत र जेहेनदार विद्यार्थीका लागि १÷१ कोटा छात्रबृत्ति प्रदान गरिन्छ ।
त्यस्तै प्रत्येक स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा वर्गीकृत अन्तर्गत २ र जेहेनदार विद्यार्थीका लागि १ कोटा छात्रबृत्ति प्रदान गरिन्छ ।
प्रत्येक ४० स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा वर्गीकृत अन्तर्गत ३ र जेहेनदार अन्तर्गत १ कोटा छात्रबृत्ति प्रदान
गरिन्छ । त्यो भन्दा माथिको लागि वर्गीकृत अन्तर्गत ४ र जेहेनदारतर्फ १ जनालाई छात्रबृत्ति प्रदान गरिने सिटीइभिटीका सदस्यसचिव काफ्लेले बताए ।
छात्रबृत्तिमा सिफारिस भई भर्ना भएका विद्यार्थीले आफू अध्ययनरत शिक्षालयमा लाग्ने कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने उनको भनाई छ । अध्ययन अवधिभर खाने र बस्ने व्यवस्था भने विद्यार्थीले नै मिलाउनुपर्ने सदस्य सचिव काफ्लेले बताए ।
रातोपाटीबाट